२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा स्कुल विभाग विवाद थप उत्कर्षमा



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्कुल विभागमा देखिएको विवाद उत्कर्षमा पुगेको छ । विवाद समाधान नभएपछि मंगलबार बस्ने भनिएको सचिवालय बैठक नै स्थगित भएको छ ।

नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाइएको थियो । तर, पार्टीको स्कुल विभागमा देखिएको विवाद अझै समाधान नभएपछि बैठक स्थगित भएको हो । स्कुल विभागको विवाद समाधान गरी सचिवालय बैठक बिहीबार बस्ने नेकपा स्रोतले जनाएको छ ।

पार्टीको वैचारिक एवं शक्तिशाली विभागको रूपमा रहेको स्कुल विभाग प्रमुखका लागि सचिवालय सदस्यद्व ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको दाबेदारी छ । दुवै नेता आफ्नो अडानमा टसमस नभएपछि पार्टीका शीर्ष नेता मिलाउने प्रयासमा छन् ।

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपालसहित शीर्ष तहमै स्कुल विभाग तत्कालीन एमालेले लिने सहमति भएको थियो । पूर्व एमालेको भागमा परेपछि पोखरेलले दाबी गरेका थिए । तर, तत्कालीन माओवादी नेताले पोखरेललाई स्कुल विभाग प्रमुखमा स्वीकार गर्न नसकिने बताएपछि विवाद सुरु भएको हो ।

सचिवालय सदस्य रहेका तत्कालीन एमालेका ६ जना नेताको छुट्टै बैठक प्रधानमन्त्री निवास बालुवाटारमा गतसाता भएको थियो । सो बैठकमा जिम्मेवारी बाँडफाँड विषयमा गम्भीर छलफल गर्दै स्कुल विभागमा पोखरेलाई ल्याउने सहमति भएको थियो । तर, पार्टी प्रवक्तासमेत रहेका नेता श्रेष्ठले आफ्नो दाबेदारी कायम नै राखेपछि विवाद देखिएको छ ।

अध्यक्षद्वय ओली र दाहालले आइतबार साँझ बालुवाटारमा बसेर विवाद मिलाउँने प्रयास गरे । तर, अध्यक्षद्वयको बैठकले समेत केही निर्णय गर्न नसकेपछि मंगलबारको बैठक नै स्थगित गर्ने सहमति भएको बालुवाटार स्रोतले जनाएको छ । पार्टी सचिवालयको अर्को बैठक बिहीबार बस्ने बताइएको छ ।

सचिवालय बैठक स्थगित

जनताको बहुदलीय जनवाद (जबज) को विषयमा खुलेर वकालत गरेका पोखरेललाई स्कुल विभाग प्रमुख बनाउन नहुने तर्क तत्कालीन माओवादी नेताको छ । पार्टी एकता गर्दा जनताको जनवादमा सहमति भए पनि पछिल्लो समय पोखरेलले जवजको विषयमा सार्वजनिक रूपमै वकालत गरेका थिए ।

गत आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा श्रेष्ठ र पोखरेल दुवैले स्कुल विभाग प्रमुख हुनुपर्ने दाबी प्रस्तुत गरेको गरेका थिए । दुवै नेताको अडानकै कारण सचिवालय बैठकले विभाग, आयोगलगायतको पार्टी एकताको कार्य टुंगो लगाउँन नसकेको हो ।

नेताबीच विवाद भएपछि कार्यकर्ता आरोप प्रत्यारोपमा उत्रिका छन् । श्रेष्ठ र पोखरेलको पक्ष र विपक्षमा सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप तीब्र रूपमा भइरहेको छ ।

नेकपाका ३२ विभागमा भागबन्डाको सहमति यसअघि नै भइसकेको छ । ३२ विभागमध्ये १८ मा तत्कालीन एमाले र १४ वटामा तत्कालीन माओवादीले प्रमुखको जिम्मेवारी लिने सहमति यसअघि नै भइसकेको छ ।

पार्टी प्रवक्ताको भूमिकामा रहेका श्रेष्ठलाई अध्यक्षद्वय ओली र दाहालले प्रचार विभागको प्रमुख बन्न आग्रह गरिसकेका छन् । तर, श्रेष्ठले प्रचार विभाग नलिने अडान व्यक्त गर्दै स्कुल विभाग प्रमुख बनाउनुपर्ने दाबी गर्दै आएको छन् ।

पार्टीभित्रको शक्तिशाली विभाग मानिने प्रचार र अर्थ विभाग तत्कालीन माओवादीको भागमा परेको छ । संगठन, अर्थ, विदेश, स्कुल, प्रचार, मोर्चालगायतलाई शक्तिशाली विभागको रूपमा लिने गरिन्छ । प्रत्येक विभाग ३५ सदस्ययी हुनेछ । जसमा तत्कालीन एमालेबाट २० जना र माओवादीबाट १५ जना सदस्य हुनेछन् । ३२ मध्ये १८ एमाले र १४ माओवादीको भागमा विभाग परेका छन् ।

३ जेठ २०७५ मा तत्कालीन एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकीकरण भएको थियो । एकीकरण घोषणासभालाई सम्बोधन गर्दै शीर्ष नेताले तीन महिनाभित्रमा पार्टी एकताको काम टुंगो लगाउने उद्घोष गरेका थिए ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।