९ आश्विन २०८१, बुधबार
,
Latest
साहारा सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता प्राडा पन्त आइएपिबीको ‘बोर्ड अफ ट्रस्टी’मा निर्वाचित मध्य युरोपमा घातक बाढीको सम्भावनालाई जलवायु परिवर्तनले दोब्बर बनायो चितवनमा डेङ्गी र स्क्रब टाइफसका बिरामी बढे क्यान र मेटलाइफ नेपालबीच सम्झौता न्यायपरिषद्लाई नेपाल बारको चेतावनी: यथास्थितिमा न्यायाधिश नियुक्त गरे बहिष्कार गर्छौैं कञ्चनपुरमा चटयाङ लागेर दुईजनाको मृत्यु एएफसी यू–२० छनोटमा उज्वेकिस्तानसँग नेपालको लज्जास्पद हार अध्यागमन कार्यालयको छवि सुधार गर्न आवश्यक छ: गृहमन्त्री लेखक विदेशी नागरिकको सामान लुटपाट गरेको आरोपमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजनिक शौचालयमा किराना पसल



अ+ अ-

डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लामा आम नागरिकका लागि निर्माण गरिएको सार्वजनिक शौचालयमा एक महिलाले आफ्नो निजी किराना पसल सञ्चालन गर्नुभएको छ । दिपायलकी स्थानीय खन्टी केसी नामक महिलाले उक्त सार्वजनिक शौचालयमा वर्षौंदेखि आफ्नो निजी किराना पसल सञ्चालन गर्नुभएको छ ।

सार्वजनिक शौचालयमा किराना पसल खोल्दै शौचालय निजी बनाएपछि अहिले बटुवा तथा स्थानीयलाई शौच गर्नलाई निकै सास्ती भएको पिपल्लाका स्थानीय भरत खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “सार्वजनिक शौचालयमा पसल खोलिएको छ, शौचालय व्यक्तिगत बनाउँदा अन्य बटुवा तथा यात्रुलाई समस्या भएको छ ।”

विसं २०७४ मा डोटी उद्योग वाणिज्य सङ्घको पहलमा निर्माण भएको उक्त सार्वजनिक शौचालय अहिले निजी बनाएपछि स्थानीय आक्रोशित बनेका छन् । करीब रु छ लाख ३१ हजारको लागतमा उक्त सार्वजनिक शौचालय निर्माण गरिएको स्थानीयवासी तथा डोटी उद्योग वाणिज्य सङ्घका पूर्वसदस्य गणेशबहादुर साउदले जानकारी दिनुभयो । उक्त सार्वजनिक शौचालयमा तत्कालीन सुदूरपश्चिम खानेपानी तथा सुपरिवेक्षण कार्यालय दिपायल, राजपुरले रु तीन लाख ६९ हजार सहयोग गरेको थियो भने बाँकी रकम डोटी उद्योग वाणिज्य सङ्घले बेहोर्ने गरी निर्माण गरिएको उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नरेन्द्रबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “म अध्यक्ष भएको बेलामा शौचालय निर्माण भएको हो, पछि कसले कसलाई जिम्मेवारी दिए मलाई थाहा भएन ।” उक्त सार्वजनिक शौचालयमा शौच गरेको रु पाँच तथा दिशा गरेको रु १० लिने नियम राखिएको भए पनि अहिले शौचालय व्यक्तिले आफ्नो निजी काममा मात्रै प्रयोगमा ल्याउन थालेपछि शौचालय प्रयोग गर्न कोही पनि आउँदैनन् ।

सार्वजनिक रुपमा आम नागरिकका लागि निर्माण गरिएको उक्त शौचालयमा खानेपानी कार्यालयले चौबीसै घण्टा पानी निःशुल्क दिँदै आएको छ । उक्त शौचालयको एक कोठामा खन्टी केसीले आफ्ना बाख्रा तथा कुखुरा राख्नुभएको छ भने अर्को कोठामा भएको शौचालय आफूले प्रयोग गर्दै आउनुभएको स्थानीयको आरोप छ । सार्वजनिक ठाउँमा नागरिकका लागि निर्माण गरिएका शौचालय व्यक्तिले आफ्ना निजी बनाउन थालेपछि अहिले बटुवा तथा यात्रुले पिपल्ला बजारका सार्वजनिक ठाउँको प्रयोग गर्दै शौच गर्न बाध्य भएको स्थानीय हर्क बोहराले बताउनुभयो ।
उता दिपायल सिलगढी नगरपालिका–४ का वडाध्यक्ष वीरेन्द्र शाहले आफ्नो वडामा निर्माण भएका सार्वजनिक शौचालयमा कर्मचारी राख्ने तथा सरसफाइ गर्नका लागि पहल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “शौचालयमा रेखदेख गर्ने कर्मचारी राख्ने तयारीमा छौँ, अब शौचालय चाँडै नै सबैको प्रयोगमा आउने बनाउँदैछौँ ।”