काठमाडौं । सरकार चलचित्रसम्बन्धी विधेयकको तयारीमा रहँदै गर्दा फिल्म निर्माणको इजाजतमा अहिले भने निकै नै कडाइ सुरु भइसकेको छ । यही विषयमा १० वर्षअघि बनेको फिल्म ‘दासढुङ्गा’को सिक्वेल ‘दासढुङ्गा २’ को टिमले फिल्म निर्माण अनुमति पाउन सकेन ।
तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र जिवराज आश्रितको दुर्घटनामा केन्द्रित राजनीतिक पृष्ठभूमिको विषय वस्तु रहेको फिल्मको सुटिङका लागि नेकपाबाट नियुक्त भएका बोर्ड अध्यक्ष केशव भट्टराईले झुलाइरहेका छन् । फिल्म निर्माणको घोषणा ३ महिनाअघि नै भएको थियो। तर इजाजत नपाएपछि निर्माण टिम अहिले तनावमा छ।
२०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जिप दुर्घटनाको कथा समेटिएको ‘दासढुङ्गा २’को निर्माण रोक्नुको कारण बोर्डले अझै नखुलाएको निर्देशक तथा लेखक कुमार भट्टराईको गुनासो छ।
मदन भण्डारी मारिएको दासढुंगा घटनामा आधारित फिल्मको कथासारमा राष्ट्रपति र प्रधानमन्त्रीको भूमिका शंकास्पद देखाउँदा फिल्म निर्माणको अनुमति नपाएको हो ।