२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट बाढीमा औषधि गुमाएका ज्येष्ठ नागरिकका लागि नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर भोटेकोशी–त्रिशूली बाढीपीडितप्रति उपत्यकावासीको ऐक्यवद्धता, बेपत्ताको खोजीमा राज्यलाई उच्च प्राथमिकता दिन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी–त्रिशूली बाढीपीडितप्रति उपत्यकावासीको ऐक्यवद्धता, बेपत्ताको खोजीमा राज्यलाई उच्च प्राथमिकता दिन आग्रह



अ+ अ-

 

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा भएको अकल्पनीय मानवीय तथा भौतिक क्षतिप्रति काठमाडौं उपत्यकावासीले गहिरो दुःख व्यक्त गर्दै प्रभावित नागरिकप्रति ऐक्यवद्धता जनाएका छन्।

नेपाल–चीन सीमा क्षेत्रमा गएको हिमपहिरो तथा हिमताल विस्फोटपछि भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै उपत्यकाका नागरिकहरूले आइतबार बिहान काठमाडौंमा सामूहिक ऐक्यवद्धता ¥याली आयोजना गरेका हुन्।

¥यालीमा सहभागीहरूले महाविपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ताहरूको खोजी कार्यलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्ने माग गरेका छन्। उनीहरूले बेपत्ताको खोजीका लागि अधिकतम स्रोत–साधन, जनशक्ति तथा आधुनिक प्राविधिक र वैज्ञानिक विधिको प्रयोग गर्न सरकारसँग आग्रह गरेका छन्।

बाढी प्रभावित क्षेत्रमा फेला परेका शवहरूको पहिचानमा जटिलता देखिएको भन्दै नागरिक समूहले सबै शवको सम्मानजनक व्यवस्थापन र वैज्ञानिक अभिलेखीकरण गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन्। शव पहिचानका लागि डीएनए लगायतका जैविक नमूना सुरक्षित राख्ने तथा परिवारका सदस्यबाट नमूना संकलन गरी आवश्यक समन्वय गर्नुपर्ने उनीहरूको भनाइ छ।

पहिचान भएका शव परिवारलाई हस्तान्तरण गर्ने प्रक्रियालाई समेत मानवीय संवेदनशीलताका साथ सरल र सहज बनाउन नागरिक समूहले आग्रह गरेका छन्।

संकटको कठिन समयमा आफ्नो ज्यानको प्रवाह नगरी उद्धार तथा राहतमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, स्थानीय उद्धारकर्मी, चालक, प्राविधिक तथा स्वयंसेवकहरूको योगदानको उनीहरूले उच्च प्रशंसा गरेका छन्।

त्यसैगरी, महाविपद्बाट प्रभावित नागरिकको पुनःस्थापना र पुनर्निर्माणलाई दीर्घकालीन राष्ट्रिय प्राथमिकतामा राख्न सरकारसँग माग गरिएको छ। आवास तथा जीविकोपार्जन गुमाएका परिवारको पुनःस्थापनामा सरकारले गम्भीरतापूर्वक काम गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।

क्षतिग्रस्त सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था, खानेपानी, विद्युत् तथा सञ्चारलगायतका आधारभूत पूर्वाधार यथाशीघ्र पुनर्निर्माण गर्नुपर्ने उनीहरूको माग छ। पुनर्निर्माणका क्रममा मानव सुरक्षा, वातावरणीय संवेदनशीलता तथा भविष्यमा आउन सक्ने विपद्को जोखिम न्यूनीकरणलाई विशेष प्राथमिकता दिनुपर्नेमा पनि जोड दिइएको छ।

उपत्यकाका नागरिकहरूले विपद्को शोकलाई शक्ति र सहयोगमा रूपान्तरण गर्ने संकल्प गर्दै प्रभावित परिवारसँग ऐक्यवद्धता प्रकट गरेका छन्। कठिन परिस्थितिमा एक–अर्कालाई सहयोग गर्नु मानवीय धर्म र नेपाली पहिचान भएको उल्लेख गर्दै उनीहरूले सुरक्षित नेपाल निर्माणका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन्।