२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दशौँ राष्ट्रिय खेलकुदमा कर्णालीका २१ जना तेक्वान्दो खेलाडी छानिए News Polar नेपालमा पहिलोपटक दृष्टिविहीनहरूको सहभागितामा सेतो छडी वाकाथन प्रतियोगिता News Polar कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक News Polar रसुवा बाढीः ‘विकास क्षेत्रको पुनरुत्थान र प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धनका लागि सरकारले ठोस योजना ल्याओस्’ News Polar प्रधान सेनापतिबाट फूलपाती बढाइँ समारोहको अन्तिम निरीक्षण-फोटो फिचर News Polar तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार News Polar सङ्गठित अपराधको कसुरमा चार जना पक्राउ News Polar विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन News Polar दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार News Polar उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते News Polar राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन News Polar उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक News Polar नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्णः प्रकृति संरक्षण कोष News Polar जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिकः मधेसको सीमान्तकृत पीडा र विभेदको दस्तावेज News Polar जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छः प्रकृति संरक्षण कोष News Polar सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता

विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन

विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन
फाइल फोटो
अ अ+ अ-

म्याग्दी। विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुन आज मनसुनजन्य विपद्बाट पुगेको क्षतिको निरिक्षणका लागि म्याग्दीमा आउनुभएको छ ।

यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढी र पहिरोका कारण प्रभावित बनेको म्याग्दीको स्थलगत निरीक्षणका लागि यहाँ आउनुभएको हो ।

गत फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा पुन विजयी हुनुभएको थियो । बाढीपहिरोले पुर्‍याएको क्षतिको स्थलगत निरीक्षण, प्रभावितसँग भेटघाट र सरोकार भएका निकायका प्रतिनिधिसँग छलफलका लागि उहाँ म्याग्दी पुग्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

“म्याग्दीका छ वटै स्थानीय तहको केन्द्रमा पुगेर विपद्ले पुर्‍याएको क्षतिको निरीक्षण, प्रभावितसँग भेटघाट र पुनर्निर्माण तथा पुनःस्थापनाका विषयमा छलफल गर्न आएको हुँ”, मन्त्री पुनले भन्नुभयो, “क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण र बाढीपहिरोबाट घरवासविहीन बनेकाहरुको पुनःस्थापनालाई प्राथमिकता दिएर म्याग्दीका छ वटै स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।”

सरकार विपद्पछिको पुनर्निर्माण र पुनःस्थापनामा केन्द्रित भएको मन्त्री पुनले बताउनुभयो । उहाँले स्थलगत निरिक्षण, प्रभावितको अपेक्षा र सरोकारवालाहरुको सुझावका आधारमा पुननिर्माण तथा पुनःस्थापनाको कार्ययोजना बनाएर अघि बढ्ने बताउनुभयो ।

आज बिहान बेनीमा प्रमुख जिल्ला अधिकारी गणेश गैरेलगायत सुरक्षा अधिकारीहरूसँग भेटघाट गरेर धौलागिरि, मालिका र मङ्गला गाउँपालिकाको निरीक्षणमा जानुभएको थियो । शुक्रबार बिहान बेनी, दिउँसो रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाको निरीक्षण गरी त्यहाँका प्रतिनिधिसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको मन्त्री पुनका सम्पर्क व्यक्ति चित्र तिलिजा पुनले बताउनुभयो ।

मन्त्री बनेपछि पुन दोस्रोपटक आफ्नो निर्वाचन क्षेत्रमा आउनुभएको हो । सरकारी सवारीसाधन र सुरक्षाकर्मी साथमा नलिई निर्वाचन क्षेत्रमा आएका पुनको टोलीले भ्रमणमा भाडाको जिप प्रयोग गरेका छन् ।

विपद्का कारण म्याग्दीमा सात जनाको मृत्यु र दुई जना बेपत्ता भएको, सडक, खानेपानी, नदी नियन्त्रण, विद्युत्, सञ्चार, सिँचाइ पूर्वाधार र निजी सम्पत्तिमा अर्बौंको क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाभर १११ घर पूर्णरुपमा क्षति भई परिवार विस्थापित भएका छन् । त्रियाननब्बे घरमा आंशिक क्षति पुगेको छ भने ३४२ घर पहिरोको उच्च जोखिममा रहेका सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो ।

प्रारम्भिक विवरणअनुसार बेनी-जोमसोम सडकखण्डमा मात्रै करिब रु ८० देखि ९० करोड बराबरको क्षति भएको छ । बेनी-दरबाङ सडकखण्डमा करिब रु आठ करोडको क्षति पुगेको छ ।

सदरमुकाम बेनीमा वितरण हुने खानेपानीका संरचनामा रु आठदेखि १० करोड बराबरको क्षति भएको छ भने विद्युत् संरचनामा करिब रु दुई करोड ५० लाखको क्षति पुगेको प्रशासनले जनाएको छ । रासस