२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी News Polar पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन News Polar तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार News Polar भदौमा दुई खर्ब २१ अर्ब विप्रेषण भित्रियो News Polar सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा News Polar दसैँमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन… News Polar दसैँसँगै बाँचेका गुणबहादुरहरु News Polar परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता News Polar पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु News Polar कांग्रेस सहमहामन्त्री थारूतर्फ योगेन्द्र अगाडि, महिला केन्द्रीय सदस्यमा जीवनको अग्रता News Polar कांग्रेस महाधिवेशन: मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्यको मतगणना दिउँसो १ बजेदेखि जारी News Polar सिप्रदी ट्रेडिङद्वारा एक्साइड ब्याट्रीमा ‘महा–एक्सचेन्ज धमाका’ अफर सार्वजनिक News Polar भोटेकोशी बाढीः दसैँ आयो तर आमाबुवा आउनुभएन News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान News Polar इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग

दसैँसँगै बाँचेका गुणबहादुरहरु

दसैँसँगै बाँचेका गुणबहादुरहरु
oplus_2
अ अ+ अ-

ख्वप (भक्तपुर), २७ अजोजः दसैँको चाडसँगै बाँचेका गुणबहादुरहरुले भक्तपुरको संस्कृतिमा टेवा पुर्‍याउँदै आएको २५ वर्ष नाघेको छ ।

दसैँ भन्नासाथ मीठोमसिनो खाने, रमाइलो गर्ने भन्ने आउँछ, तर, अरुलाई मीठो खुवाउन व्यापारसँग जोडिएका गुणबहादुरहरु राँगो बिक्रीमा निरन्तर लागि पर्दै आउनुभएको छ ।

भक्तपुरमा दसैँको रौनक अलि फरक छ । भोजमा खसीबोकाभन्दा राँगाको मासुको विशेष महत्व छ । टोलटोलमा राँगो काट्ने र त्यसको मासु भाग लगाएर घरघरमा लैजाने संस्कृतिकोको पहिचान हो, भक्तपुरको । यस्तै पहिचानले गुणबहादुर बिसुरुवाजस्ता व्यापारीको जीवन धानिरहेको छ ।

उहाँ यसवर्ष ३० वटा राँगा लिएर व्यापार गर्न भक्तपुर आउनुभएको छ । गुणबहादुरका लागि राँगा बेच्नु केबल दसैँको व्यापार होइन, वर्षौंदेखि जीविकोपार्जनको आधार पनि हो ।

सडकछेउको पालमुनि बास

भक्तपुरका सन्दर्भमा दसैँ होस् या अन्य समय राँगो बेच्ने स्थान हो महेश्वरीस्थान । तर पनि राँगा बेच्न आउने व्यापारीको बसाइँ यहाँं सहज छैन । उहाँहरू राँगा राखिएकै ठाउँमा सडकछेउ पाल टाँगेर जीवन चलाउनुहुन्छ ।

के होला गुणबहादुरहरुको अबको दसैँ ?

सबैलाई थाहा छ समय सधैँ उस्तै कहाँ रहन्छ र ! कुनै समय दसैँ आउनु महिना दिनअघिदेखि नै राँगा किन्ने र बेच्नेको भीड लाग्ने भक्तपुरको महेश्वरीस्थानमा अहिले भने पहिलेको जस्तो चहलपहल छैन ।

दसैँका लागि राँगा बेच्न आएका व्यापारी ग्राहकको प्रतीक्षामा छन् । दसैँको परम्परासँगै आफ्नो जीविकोपार्जनमा जोडिएकका लागि यसपालीको दसैँ अपेक्षाभन्दा खल्लो बनेको छ । तर घटस्थापनाका दिन महेश्वरीस्थान आइपुग्नुभएका रामबहादुरजस्ता धेरैले दसैँ नजिकिँदै गर्दा सोचेजस्तो व्यापार भएको छैन ।

पहिलापहिला राँगा किन्न एक महिनाअघिदेखि नै ग्राहक आउँथे । अहिले एक हप्ताअघि मात्रै ल्याउँदा पनि ग्राहक पाउन मुस्किल छ, रामबहादुरले दुःखेसो पोख्नुभयो ।

परम्परा बदलिँदा गुणबहादुरहरुको भविष्य अन्धकार

भक्तपुरमा राँगाको व्यापार घट्नुका पछाडि उपभोगको बदलिँदो शैली, वर्षभरि मासु उपलब्ध हुने अवस्था, गुठीको घट्दो सहभागिता र बजार व्यवस्थापनमा देखिएका कठिनाइ प्रमुख कारणका रूपमा औँल्याएको छ ।

पहिले दसैँको मासु वर्षभरिका लागि सुकुटी बनाएर राख्ने चलन थियो । अहिले आवश्यक पर्दा बजारबाट मासु किन्न सकिने भएकाले दसैँका लागि धेरै राँगा किन्ने आवश्यकता छैन । अर्कोतर्फ, परम्परागत रूपमा सामूहिक भोज आयोजना गर्ने गुठीको सङ्ख्या वा सक्रियता घट्दा राँगाको माग प्रभावित भएको छ ।

यद्यपि भक्तपुरको राँगाको बजार केबल किनबेचको ठाउँ होइन । यो स्थानीय संस्कृति, सामूहिक भोज र पुस्तौँदेखि चलिआएको परम्परासँग जोडिएको बजार हो ।

यही बजारमा वर्षौंदेखि व्यापार गर्दै आएका गुणबहादुर बिसुरुवाजस्ता व्यापारीका लागि भने यो जीविकोपार्जनको आधार हो ।

बजारमा ग्राहक नदेखिँदा उहाँको आशा अझै पूरा भएको छैन । उहाँको चिन्ता आफ्ना राँगा कहिले बिक्री हुन्छन् भन्नेमा मात्रै सीमित छैन वर्षौंदेखि यही व्यवसायमा टिकेका व्यापारीको भविष्य पनि यससँग जोडिएको छ ।

दसैँमा अरूका घरमा मासु भित्रिन्छ, भोज पाक्छ र चाडपर्वको खुसी छाउँछ । तर त्यही खुसीका लागि राँगा बेच्न आएका व्यापारी भने सडकछेउको पालमुनि बसेर आफ्नो व्यापार चल्ने आशा गरिरहेका छन् ।

उहाँका लागि दसैँ कमाइको अवसर हो, परिवारको खर्च जुटाउने समय हो र वर्षौंदेखि अपनाउँदै आएको पेसालाई निरन्तरता दिने आधार हो ।

भक्तपुरको राँगाको बजारमा घट्दो चहलपहलले एउटा प्रश्न उठाएको छ, परम्परा बदलिँदै जाँदा त्यसैमा निर्भर रहेका व्यापारीको जीविका कसरी जोगिएला ?

परम्पराले धानेको व्यापार, घट्दै गएको बजार

भक्तपुरको महेश्वरीस्थानमा दसैँ सुरु हुनुभन्दा करिब एक साता अघिदेखि राँगाको बजार लाग्छ । चितवन, रामेछाप, वीरगञ्ज, सिन्धुपाल्चोक, गौशाला, भारत, कपिलवस्तु र नेपालगञ्जलगायत ठाउँबाट व्यापारी राँगा लिएर यहाँ आउँछन् ।

यस वर्ष पनि आठदेखि १० वटा समूहमा व्यापारी राँगा बेच्न आएका छन् । भक्तपुरका स्थानीय कृष्णप्रसाद वासीलाई पहिलेको राँगाको बजार अझै सम्झना छ । उहाँका अनुसार कुनै समय दसैँका लागि महेश्वरीस्थानमा तीन हजारभन्दा बढी राँगा बिक्री हुन्थ्यो । अहिले सङ्ख्या घटेर करिब ५०० को हाराहारीमा सीमित छ । पहिला एउटा गुठीले कम्तीमा एउटा राँगो काट्ने चलन थियो । कुनैकुनै गुठीले दुईदेखि तीन वटासम्म काट्थे । “गुठीले एउटा मात्रै काट्छन्, कतिपयले काट्नै छाडेका छन्”, उहाँले भन्नुभयो । पहिले दसैँका लागि एकैपटक धेरै मासु किनेर सुकुटी बनाउने चलन थियो ।

दसैँमा काटिएको राँगाको मासु विभिन्न परिकार बनाएर खाने र बाँकी मासु सुकाएर राख्ने गरिन्थ्यो । बजारमा वर्षभरि नै मासु उपलब्ध हुन थालेपछि दसैँका लागि एकैपटक धेरै मासु किनेर राख्ने चलन घट्दै गएको स्थानीयको भनाइ छ । यही परिवर्तनले राँगाको बजारमा प्रत्यक्ष असर पारेको छ । पहिले दसैँमा राँगा बेचेर राम्रो आम्दानी गर्ने व्यापारी बिक्री नहुने चिन्तामा छन् ।

रामेछापका व्यापारी राजन तिमल्सिना पनि यस वर्ष २५ वटा राँगा लिएर भक्तपुर आउनुभएको छ । उहाँले ल्याएका राँगाको मूल्य ६० हजारदेखि रु दुई लाखसम्म पर्छ । दसैँको समयमा राँगा बेचेर खर्च जुटाउने गरेको छु । तर यसपाला बजारमा खासै चहलपहल छैन, उहाँले भन्नुभयो । राँगा किन्ने ग्राहक घट्नुको असर व्यापारीको आम्दानीमा मात्रै सीमित छैन ।

बिक्रीका लागि ल्याइएका राँगा लामो समयसम्म राख्नुपर्दा तिनको हेरचाह, दाना र पानीको व्यवस्थापनमा पनि उत्तिकै ध्यान दिनुपर्छ । बिक्री हुने आशामा टाढाटाढाबाट राँगा ल्याएका व्यापारीका लागि ग्राहकको प्रतीक्षा आफैँमा खर्चिलो बनेको छ ।

राँगाको मासुमा भक्तपुरवासीको स्वाद

भक्तपुरको दसैँलाई राँगाको मासुका परिकारबिना पूर्ण मानिँदैन । यहाँका विभिन्न गुठी तथा समुदायमा सामूहिक भोज गर्ने परम्परा छ । भोजमा राँगाको मासुबाट तयार पारिने अनेक परिकारले विशेष स्थान पाउँछन् ।

स्थानीयका अनुसार छोयला, दायकला, ख्वायला, सलाख्वा, भुटन र सेकुवाजस्ता परिकार भक्तपुरको परम्परागत भोजका महत्वपूर्ण मासुका परिकार हुन् ।

पोलेर बनाइने छोयला, झोल भएको दायकला, पकाएर चिसो बनाइने ख्वायला, मासुको झोलबाट बनाइने पिरो सलाख्वा, भुटन र तेलमा तारेर बनाइने सेकुवाजस्ता परिकारले भोजको स्वाद बढाउँछन् । यी परिकार केबल खानाका विविधता मात्र होइनन्, भक्तपुरको सांस्कृतिक पहिचानसँग जोडिएका छन् ।

दसैँमा गुठी तथा समूहले सामूहिक रूपमा राँगो काट्ने र मासु बाँडेर भोज गर्ने परम्पराले समुदायबीचको सम्बन्धलाई पनि निरन्तरता दिँदै आएको छ ।

यद्यपि भक्तपुरमा दसैँका अवसरमा सबै प्रकारका पशु काट्ने चलन एउटै छैन । महाअष्टमीका दिन सवारीसाधनको पूजा गर्दा खसी वा बोका बलि दिने परम्परा पनि यहाँ प्रचलित छ ।

महेश्वरीमै किन लाग्छ राँगाको बजार ?

वीरगञ्ज महानगरपालिका क्षेत्रको जितपुरबाट राँगा बेच्न आउनुभएका व्यापारी हली महोमदमियाका अनुसार महेश्वरीस्थानमा राँगा राख्ने परम्परा यहाँ पहिले खुला ठाउँ भएकाले सुरु भएको हो ।

फराकिलो क्षेत्र र नजिकै खोला भएकाले विभिन्न ठाउँबाट ल्याइएका राँगा यहाँ राख्न सहज थियो । तर अहिले अवस्था फेरिएको छ । वरिपरि बस्ती विस्तार भएको छ । खेलमैदान, सडक र अन्य संरचना बनेका छन् ।

नगरपालिकाले विभिन्न क्षेत्रमा पर्खाल लगाएकाले राँगा राख्न पर्याप्त ठाउँ पाउन कठिन भएको व्यापारीहरूको गुनासो छ ।

खोलाको किनारमा पर्खाल बनेपछि राँगालाई पानी खुवाउन समस्या हुने गरेको बताउनुहुन्छ । पहिला झण्डै २०० राँगा ल्याएर बेच्थ्यौँ । अहिले ३० वटा पनि राख्ने ठाउँ पाउन गाह्रो छ, महोमदमियाँले भन्नुभयो । पहिले महेश्वरीस्थानमा राँगा राखेबापत शुल्क तिर्नुपर्ने व्यवस्था थिएन भने प्रत्येक राँगाको ५० रुपैयाँ तिर्नुपर्छ । शुल्क लिएपछि व्यापारीलाई आवश्यक सुविधा पनि उपलब्ध गराउनुपर्ने उहाँको माग छ ।

भक्तपुर नगरपालिकाका कर अधिकृत प्रभासकुमार चालिसेका अनुसार महेश्वरीस्थानमा बिक्रीका लागि ल्याइएका प्रत्येक राँगाबापत दैनिक ५० रुपैयाँ शुल्क लिने गरिएको छ ।

उहाँका अनुसार दुई वर्षअघि राँगा बोकेर ल्याइएको गाडीका आधारमा प्रतिगाडी ५०० रुपैयाँ शुल्क लिने गरिएको थियो । अहिले भने प्रतिराँगोका आधारमा शुल्क लिइँदै आएको छ ।

व्यापारीहरू भने शुल्कसँगै राँगा राख्ने पर्याप्त ठाउँ, पानी र अन्य आधारभूत सुविधा पनि उपलब्ध हुनुपर्ने बताउँछन् । परम्परागत बजार सञ्चालन भइरहे पनि त्यसअनुसारको पूर्वाधार र व्यवस्थापन नहुँदा आफूहरूलाई समस्या परेको उनीहरूको गुनासो छ ।

भक्तपुरका स्थानीय दसबहादुर मानन्धरका अनुसार महेश्वरीस्थानमा घटस्थापनादेखि फूलपातीसम्म मुख्य रूपमा राँगाको बजार लाग्छ । फराकिलो ठाउँ र नजिकै खोला भएकाले विगतदेखि नै यहाँ राँगा राख्ने गरिएको उहाँ बताउनुहुन्छ । पहिले भेलुखेलमा पनि राँगा राख्ने चलन थियो । अहिले ठाउँ अभावका कारण महेश्वरीस्थानमै बजार केन्द्रित भएको छ । फूलपातीको अघिल्लो दिनदेखि राँगा काट्नेक्रम सुरु हुन्छ त्यसैले महेश्वरीस्थानको बजार दसैँको तयारीसँग प्रत्यक्ष जोडिएको छ ।

गुणबहादुरहरुको जीवन चलिरहोस्

दसैँको रौनकले गुणबहादुरको चुलो पनि बल्न सकोस्, उहाँले ल्याएका राँगा पनि बिक्री होऊन् र वर्षौंदेखि यही बजारमा टिकेको जीविकोपार्जनको आधार पनि नटुटोस्, भक्तपुरको महेश्वरीस्थानमा ग्राहकको प्रतीक्षामा बसेका व्यापारीहरूको आशा हो । रेणु त्वानावासु/रासस