काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह (विश्व बैंक) र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन मंगलबार थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्दै हुनुहुन्छ।
अर्थमन्त्री वाग्ले मंगलबार दिउँसो १ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइ एयरलाइन्सको विमानमार्फत बैंकक प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
विश्वभरका अर्थमन्त्री सहभागी हुने उक्त बैठकका क्रममा अर्थमन्त्री वाग्लेले १६ वटाभन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा सहभागिता जनाउनुहुनेछ।
अर्थमन्त्रीसँगै बैठकमा सहभागी हुन अर्थसचिव डा. घनश्याम उपाध्याय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सहसचिव अमृत लम्साल, अर्थमन्त्रीका निजी अधिकृत माधव भण्डारी र अधिकृत गजेन्द्र भट्टराई पनि बैंकक जाने कार्यक्रम रहेको छ।








