तनहुँ। यही असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले तनहुँको घिरिङ गाउँपालिकामा खानेपानी तथा सिँचाइका संरचनामा क्षति पुर्याएको छ ।
बाढीपहिरोका कारण खानेपानीका मुहान, पाइप, मोटर, ट्रान्सफर्मर, ट्याङ्की तथा सिँचाइका बाँध, कुलो र नहरमा क्षति पुगेको हो ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार घिरिङ गाउँपालिकाका विभिन्न वडामा खानेपानीतर्फ दश र सिँचाइतर्फ नौ वटा आयोजनामा आंशिक क्षति पुगेको छ ।
क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा मर्मतका लागि सम्बन्धित प्रदेश मन्त्रालय, कार्यालय र गाउँपालिकामा सिफारिस गरिएको उहाँले बताउनुभयो ।
बाढीपहिरोले घिरिङ गाउँपालिकाका विभिन्न बस्तीमा सञ्चालनमा रहेका खानेपानी आयोजनामा क्षति पुर्याएको छ । कतै बाढीले पाइप बगाएको छ भने कतै पहिरोले मुहान पुरिएको र विद्युतीय उपकरणमा क्षति पुगेको छ । घिरिङ-१ पुट्टारस्थित ढाव खानेपानी आयोजनाको कपरवायर एक सय मिटर र १२ वटा स्ट्यान्ड बगाएको छ । आयोजनालाई पुनः सञ्चालनमा ल्याउन आवश्यक सामग्री जडान गर्नुपर्ने भएको छ ।
त्यस्तै, घिरिङ-४ स्थित देउतीखोला खानेपानी आयोजनाको सामुदायिक विद्युतीकरणबाट सञ्चालित ट्रान्सफर्मर जलेको छ । सोही वडाको गड्यौलीटारस्थित झर्राखोला खानेपानी आयोजनाको मोटर र मिटर बिग्रिएका प्रजिअ तिवारीले जानकारी दिनुभयो । घिरिङ-३ वाकथोकस्थित चाँपादी खानेपानी आयोजनाको मुहान पहिरोले पुरिएको छ ।
घिरिङको नयाँटारस्थित सुनौली खानेपानी आयोजनामा भासिने समस्या देखिएको छ भने घिरिङ-४ जिताकोटस्थित घिमिरे पँधेरी खानेपानी आयोजनाको ट्याङ्कीमा क्षति पुगेको उहाँले उल्लेख गर्नुभयो । उहाँका अनुसार घिरिङ-२ स्थित भदौरे खानेपानी आयोजनाको एमसिबी बिग्रिएको छ ।
घिरिङ-५ स्थित भकर्दी खानेपानी आयोजनाको पाइप बाढीले बगाएको छ भने सोही वडाको अलैँचे खानेपानी आयोजनाका पिल्लरका टेका बगाएको छ । घिरिङ-५ कै गाउँपानी खानेपानी आयोजनाको मुहानमा समेत क्षति पुगेको छ । यी सबै आयोजनाको पुनर्निर्माण तथा मर्मतका लागि गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र घिरिङ गाउँपालिकामा सिफारिस गरिएको प्रजिअ तिवारीले बताउनुभयो ।
बाढीपहिरोले घिरिङ गाउँपालिकाका विभिन्न स्थानमा रहेका सिँचाइ आयोजनामा समेत क्षति पुर्याएको छ । खेतबारीमा सिँचाइ पुर्याउन प्रयोग हुँदै आएका बाँध, कुलो, पाइप तथा नहर क्षतिग्रस्त भएका छन्। घिरिङ-१ स्थित अत्रौली-पुट्टार सिँचाइ आयोजना प्रभावित भएको छ । घिरिङ-३ स्थित रोहिणी सिँचाइ आयोजनाको बाँध बाढीले बगाएको छ । सोही वडाको बाँधघट्ट सिँचाइ बाँध पनि बगाएको छ ।
घिरिङ-१ स्थित गड्यौलीटार कुलोमा बाढी पसेर मुहान बगाएको छ । घिरिङ-४ स्थित वान्टाङ खोला बाँध तथा कुलोमा क्षति पुगेको छ भने घिरिङ-५ स्थित वीरखोला सिँचाइ आयोजनाको पाइपमा क्षति पुगेको छ ।
यसैगरी, घिरिङ-३ स्थित गोफाखोला सिँचाइ बाँधमा क्षति पुगेको छ । सोही वडाको नयाँटार सिँचाइ नहर जगसहित पहिरोले बगाएको छ । घिरिङ क्षेत्रमा रहेको पार्दीकुलो सिँचाइ आयोजनाको पाइपमा समेत क्षति पुगेको प्रजिअ तिवारीले जानकारी दिनुभयो । क्षतिग्रस्त सिँचाइ आयोजनाको पुनर्निर्माण तथा मर्मतका लागि गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय दमौली र घिरिङ गाउँपालिकामा सिफारिस गरिएको उहाँले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी तिवारीका अनुसार बाढीपहिरोबाट क्षति पुगेका खानेपानी तथा सिँचाइका संरचना पुनः सञ्चालनमा ल्याउन आवश्यक प्रक्रिया अघि बढाइएको छ । क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय गरिने उहाँले बताउनुभयो ।
खानेपानीका संरचनामा क्षति पुग्दा स्थानीय बासिन्दालाई स्वच्छ खानेपानी उपलब्ध गराउन समस्या भएको छ भने सिँचाइका बाँध, कुलो र पाइप बिग्रिँदा खेतबारीमा पानी पुर्याउन कठिनाइ भएको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताउनुभयो ।रासस








