ललितपुर। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँच हजार ५०० मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलले अग्रता लिइरहनुभएको छ ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा साँझ ८ः५० बजे सम्मको गणनामा उपसभापतिको खुला पदमा डा चन्द्रकान्त भण्डारीले दुई हजार ८३४ मत प्राप्त गर्दै अग्रता लिनुभएको छ ।
त्यस्तै, इञ्जिनियर मधु आचार्यले एक हजार ७३२, गोविन्द भट्टराईले एक हजार ४३५, सुरेन्द्रराज पाण्डेले एक हजार ३५०, धनराज गुरुङले एक हजार २६६, दीपक गिरीले ७४४ र प्रा डा चन्द्रमोहन यादवले ५०६ मत प्राप्त गर्नुभएको छ ।
उपसभापतिको समावेशी एक पदमा विनोदकुमार चौधरीले एक हजार ३६९ मत प्राप्त गर्नुभएको छ भने जीवन परियारले एक हजार २९९, सीता गुरुङले ८८४, फरमुल्लाह मन्सुरले ७९५ र रञ्जीत कर्णले ४२७ मत प्राप्त गर्नुभएको छ ।
महामन्त्रीको खुला पदमा प्रदीप पौडेलले तीन हजार १७७ मत प्राप्त गर्नुभएको छ भने उदयशमशेर राणाले एक हजार ७९४, डा सुनीलकुमार शर्माले एक हजार ७१५, अमरसिंह पुनमगरले ९९५, गुरुराज घिमिरेले एक हजार १२०, नैनसिंह महरले ८४०, शङ्कर तिवारीले १०५ र डा सन्तोष उपाध्यायले ८१ मत प्राप्त गर्नुभएको छ ।
महामन्त्रीको महिला पदमा डा डिला सङ्ग्रौला (पन्त)ले दुई हजार ४१८ मत प्राप्त गर्नुभएको छ भने महालक्ष्मी उपाध्याय (डिना) ले दुई हजार २२२ र रिता खनालले ५६० मत प्राप्त गर्नुभएको छ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कायम भएका सात हजार २५५ मतदातामध्ये सात हजार ३९ महाधिवेशन प्रतिनिधिले मतदान गरेको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो । रासस








