काठमाडौँ। संस्कृत व्याकरण, वेदान्त र साहित्य विषयका विद्वान् प्रा डा हरिशरण उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान प्रदान गरिएको छ ।
जरो किलो प्रतिष्ठानले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति आचार्य पूर्णचन्द्र ढुङ्गेलले उहाँलाई सम्मान गर्नुभएको हो ।
लामो समय भारतका प्रतिष्ठित संस्कृत विश्वविद्यालयमा अध्यापन गराउनुभएका स्याङ्जाका उपाध्याय हाल ९५ वर्षका हुनुहुन्छ । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वउपकुलपति ढुङ्गेलले संस्कृत भाषामा जस्तो मानिसलाई आकर्षित गर्ने गुरुत्वाकर्षण अन्य भाषामा नभएकाले सेवा निवृत्त भएका यो भाषाको अध्ययनमा आउने गरेको बताउनुभयो ।
सम्मानित व्यक्तित्व उपाध्यायले संस्कृत भाषालाई सरल बनाउन पाठ्यक्रममा परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । संस्कृत भाषा पढ्नेको आचरण पनि शुद्ध बनाइनुपर्ने उहाँले बताउनुभयो ।
नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव प्रा डा नवराज कट्टेलले संस्कृत भाषाको प्रवर्द्धनका लागि विश्वविद्यालयका वेबसाइट संस्कृत, नेपाली र अङ्गे्रजी गरी तीन भाषामा राख्ने निर्णय भएको जानकारी दिनुभयो । सामाजिक सञ्चाल जुममार्फत संस्कृत भाषा प्रशिक्षण गराउन कार्यविधि पनि बनिसकेको जनाउँदै अब त्यसलाई विश्वविद्यालयले कार्यान्वयनमा लैजाने उहाँले बताउनुभयो ।
कार्यक्रममा जरो किलो प्रतिष्ठानका अध्यक्ष प्रा डा निर्मलमणि अधिकारी, कार्यक्रम संयोजक प्रा डा माधवप्रसाद पाण्डेय, नेपाल प्राध्यापक सङ्घ संस्कृत विश्वविद्यालय समितिका सभापति प्रा डा मुकुन्दप्रसाद लामिछाने, प्रा डा गोविन्दशरण उपाध्याय, सह प्रा डा माधवप्रसाद लामिछाने, उप प्राध्यापक केशवराज अर्याललगायतले उपाध्यायले संस्कृत क्षेत्रमा पुर्याउनुभएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।
नवौँ विश्व संस्कृत विदवसका अवसरमा ऋषि तर्पण पर्वका दिनमा प्रदान गरिनुपर्ने सम्मान भोटेकोशी बाढीको विपद्का कारण आज घटस्थापनाका दिन दिइएको हो । विसं २०७२ को घटस्थापनाका दिनमा जरो किलो प्रतिष्ठानको सङ्कल्प गरिएको अध्यक्ष एवं प्रतिष्ठानका सङ्कल्पकर्ता अधिकारीले जानकारी दिनुभयो । रासस








