काठमाडौँ। नेपाल मौसम विज्ञान विभागले आइतबार मौसम मुख्यतया सफा रहने तथा थोरै स्थानमा वर्षा हुने पूर्वानुमान गरेको छ ।
विभागका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव रहेको छ । देशको हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको महाशाखाले जनाएको छ ।
आज राति देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने सम्भावना छ ।
आइतबार र सोमबार देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । आइतबार कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा थोरै स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक, दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
सोमबार देशका हिमाली र पहाडी भूभागका एक, दुई स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना छ ।








