काठमाडौँ। नेपाली काँग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा सभापतिका उम्मेदवार गगनकुमार थापाले मतदान गर्नुभएको छ ।
राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रमा पुगेर थापाले आफ्नो मताधिकार प्रयोग गर्नुभएको हो । काँग्रेसको नयाँ कार्यसमिति चयनका लागि भइरहेको मतदानमा प्रतिनिधिहरूको उत्साहजनक सहभागिता देखिएको छ ।
निर्वाचन समितिकाअनुसार मतदान शुरु भएदेखि अपराह्न साढे ५ बजेसम्म कुल ५ हजार ६३३ मत खसिसकेको छ । निर्वाचन समितिले मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन भइरहेको जनाएको छ ।
प्रदेशगत विवरणअनुसार सबैभन्दा बढी मत बागमती प्रदेशबाट खसेको छ, जहाँ १ हजार २२५ जना प्रतिनिधिले मतदान गरेका छन् ।
यसैगरी, सुदूरपश्चिम र कर्णाली प्रदेशबाट ९८२, कोशी प्रदेशबाट ९४३, मधेश प्रदेशबाट ९००, लुम्बिनी प्रदेशबाट ८६० र गण्डकी प्रदेशबाट ७२३ मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ ।
महाधिवेशन प्रतिनिधिहरूले पार्टीको आगामी पाँच वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् ।
उम्मेदवारहरूले मतदान केन्द्रमा पुगेर आफ्ना समर्थक तथा प्रतिनिधिहरूसँग संवाद गरिरहेका छन् । मतदान प्रक्रिया सकिएपछि लगत्तै मतगणना शुरु गर्ने तयारी निर्वाचन समितिको छ । –न्युज एजेन्सी नेपाल








