२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सुनको मूल्य बढ्यो, चाँदीको घट्यो News Polar विपद्पछि पुनर्स्थापना र पुनर्निर्माणलाई प्राथमिकता दिन मुख्यमन्त्री थापाको निर्देशन News Polar साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar निधीले भने– ‘विशेष महाधिवेशनले कांग्रेसलाई विभाजित गर्‍यो, अब नयाँ घर निर्माण गर्नुपर्छ’ News Polar पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च News Polar डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न मन्त्री श्रेष्ठको अपिल News Polar कांग्रेसको मतदान दिउँसो १ बजेदेखि, अहिलेदेखि लाइनमा नबस्न निर्वाचन समितिको आग्रह News Polar चाडबाड नजिकिँदै अनलाइन ठगी बढ्यो, पोखरामा एकै व्यक्तिबाट ४ लाख ४२ हजार असुली News Polar बलिउड अभिनेता नाना पाटेकरको निधन News Polar शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति News Polar कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयन गर्न मतदान दिउँसो १ बजेदेखि News Polar मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली News Polar आइसिसीको मान्यताका पर्खाइमा क्यान र एनपिएल टोली News Polar चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा News Polar कांग्रेसको नयाँ नेतृत्व चयन गर्न  मतदान हुँदै News Polar आज  विश्व दृष्टि दिवस News Polar निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ? News Polar बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना News Polar बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा
अ अ+ अ-

धनकुटा। आधुनिक प्रविधि र विद्युत्बाट चल्ने उपकरणको प्रयोग बढ्दै गएको अहिलेको समयमा पनि जिल्लाको केही ग्रामीण भेगमा परम्परागत सीप र प्रविधिको जगेर्ना भइरहेको छ ।

विशेषगरी ठेकी निर्माणमा अहिले पनि पानी र चुदारोको प्रयोग गरिँदै आएको छ । यसले स्थानीय संस्कृति र परम्परालाई जीवन्त राखेको छ । महालक्ष्मी नगरपालिका वडा नं ४ का दीर्घबहादुर पौडेल एक वर्षेमा करिब १०० ठेकी बनाउँदै आउनुभएको छ ।

उहाँले फुर्सदका समयमा मात्रै ठेकी बनाउने काम गर्दै आएको बताउनुभयो । खेतीपातीको याममा लगाउने र बाली उठाउने यामबाहेकका समयमा ठेकी बनाउने काम गर्दै आएको उहाँको भनाइ छ । उहाँले बनाउने ठेकी सानोदेखि ठूलो आकारसम्मका हुन्छन् । यसमा दुईदेखि ३८ कुरुवासम्म अट्ने क्षमता ठेकी बनाउँदै आएको उहाँको भनाइ छ । ठेकीसँगै पौडेलले तोङ्वा, खाने भाँडो र हर्पेसमेत बनाउने गरेको बताउनुहुन्छ ।

परम्परागत तरिकाले बनाउँदा ठेकीप्रति कुरुवा ३०० रुपैयाँका दरले बिक्री हुने गरेको छ । सानो दुई कुरुवा अट्ने ठेकी ६०० र ३८ कुरुवा अट्ने ठेकी करिब ११ हजार ४०० मा बिक्री हुँदै आएको छ । यसबाट वार्षिक रुपमा करिब रु छ लाखसम्मको आम्दानी गर्दै आएको बताउनुभयो ।

कालिगढ पौडेलका अनुसार, बिजुलीबाट बनाइने ठेकीभन्दा परम्परागत ठेकीेप्रति कुरुवा करिब १०० रुपैयाँ सस्तो पर्ने गरेको छ । त्यसैले बजारमा परम्परागत रुपमा चुदारोको प्रयोग गरेर बनाइएको ठेकीको माग राम्रो रहेको छ ।

ठेकी निर्माण प्रक्रिया निकै रोचक र मेहनतपूर्ण छ । नजिकैको खोलाबाट ल्याइएको पानीलाई करिब पाँच मिटर माथिबाट झारेर साचो घुमाइन्छ । त्यसपछि सो साचोमा काठ राखेर चुदारोको सहायताले काँचो काठलाई बिस्तारै आकार दिइन्छ । यसरी तयार गरिने ठेकीमा कालिगढको सीप र कलात्मकता स्पष्ट देखिन्छ । ठेकी बनाउन मुख्यतः दार र कटहरका रूखको काठ प्रयोग गर्दा उपयुक्त मानिन्छ । दार र कटहरका काठबाट बनाइएको ठेकी दूध जमाउँदा दही र मोही मीठो हुन्छ भन्ने मान्यता रहेको छ । तर, पछिल्लो समय काठ र चुदारोको अभावका कारण यो परम्परा हराउँदै जाने चिन्ता बढ्दो छ ।

महालक्ष्मी –४ का वडाध्यक्ष शुक्रराज बूढाथोकीका अनुसार, गाउँमा बिजुली पुगे पनि ठेकी निर्माणमा पुरानै विधि अपनाइँदै आएको छ । पानी र चुदारोको प्रयोग गरेर ठेकी मात्र नभई कुटानी–पिसानीको मिलसमेत सञ्चालनमा रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार गाउँमा केही समयअघि विद्युत्बाट चल्ने ठेकी बनाउने मेसिन आएको भए पनि दीर्घकालीन सञ्चालन हुन सकेन । बूढाथोकीले पानी र चुदारोको प्रयोगबाट उत्पादन हुने सामग्री सस्तो पर्ने मात्र होइन, वातावरणमैत्री र दिगो पनि हुने बताउनुभयो ।

यसले स्थानीय सीप, परम्परा र पहिचानलाई संरक्षण गर्न महत्वपूर्ण भूमिका खेलेको छ । बूढाथोकीले परम्परागत सीपलाई आधुनिक प्रविधिसँग समन्वय गर्दै संरक्षण र प्रवर्द्धन गर्न नगरपालिकाले काम गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो“ यस्ता परम्परागत सीपले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै सांस्कृतिक सम्पदाको जगेर्ना गर्न अझ योगदान पु¥याएको । ” रासस