५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारप्रतिको असन्तोषका कारण गणतन्त्रप्रति विरोध बढेर जाने सम्भावना छ: जनमोर्चा



अ+ अ-

काठमाडौं । राष्ट्रिय जनमोर्चाले २०६२/०६३ सालको संयुक्त जनआन्दोलनका मुख्य उपलब्धि गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताविरुद्ध गम्भिर खतरा उत्पन्न भएको औंल्याएको छ । वर्तमान सरकारप्रतिको असन्तोषका कारण पनि गणतन्त्रप्रति विरोध बढेर जाने सम्भावना रहेको राष्ट्रिय जनमोचाको ठम्याई छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पार्टीको साउन ३१ र ३२ गते बसेको केन्द्रिय कार्यसमिति बैठकले देशको राजनीतिक परिस्थिति र पार्टीको संगठनात्मक स्थितिकोबारेमा मूल्यांकन गरेकोबारे निर्णय सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमार्फत यस्तो खतरा औंल्याईएको हो ।पार्टीले जारी गरेको विज्ञप्तीमा पूर्वराजा, राजावादी र नेपाली कांग्रेसका नेताहरुले समेत धर्मनिरपेक्षताको विरोध गरेको कुरा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ,‘यदि धर्मनिरपेक्षता समाप्त भयो भने नेपाल हिन्दूराष्ट्र घोषणा हुनेछ र त्यस आधारमा राजतन्त्र पुनःस्थापना हुन सक्ने खतरा छ । तर, जनताको संगठित आवाजबाट प्रतिगमन दोहोरिन नदिन हामी प्रतिबद्ध छौं ।’ वर्तमान नेकपा नेतृत्वको सरकारले पनि सही प्रकारले काम गर्न नसकेको अध्यक्ष चित्रबहादुर केसीले आरोप लगाए । केसीले नेपालमा राजतन्त्र पुनःस्थापना हुनसक्ने खतरा औंल्याए ।

अध्यक्ष केसीको नाममा जारी विज्ञप्तीमा भनिएको छ,‘कतिपय कार्यमा त्यो असफल पनि भएको छ । सरकारप्रतिको असन्तोषको कारणले स्वयं गणतन्त्रप्रति पनि विरोध बढेर जाने सम्भवाना छ ।’ कतिपय वामपन्थी दलहरुको गणतन्त्र र संविधानको विरुद्धका नीति र गतिविधिले प्रतिगमनलाई नै मद्दत पुग्ने राष्ट्रिय जनमोर्चाको विश्वास छ । उसले संघीयताले नेपालको राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता र सार्वभौम सत्तामाथि नै खतरा रहेको पनि औंल्याएको छ ।

भ्रष्टाचार, नागरिकता समस्या, महँगी, करवृद्धि, तराईमा भएको शोषण, उत्पीडन, मजदुर, किसान, महिला, जनजाति, उत्पीडित जातिलगायत विभिन्न जनवर्ग र समूदायका समस्याहरु पनि विकराल बन्दै गएको उसको ठम्याई छ । विज्ञप्तीमा भनिएको छ,‘देशको अर्थतन्त्र झन–झन बिग्रदै गएको छ । सामाजिक न्याय पनि छैन् । अतः गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षाका लागि र भ्रष्टाचार, महँगी, विभिन्न जनवर्ग तथा समूदायहरुको हकहितका लागि संघर्ष गर्नुपर्ने राष्ट्रिय आवश्यकत्ता भएको छ ।’

पार्टीले लिएका नीतिहरु सही रहेको अध्यक्ष केसीले बताए । उनले भने,‘त्यसअनुसार देशको राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका खेल्न पार्टीको संगठनात्मक अवस्थालाई अरु बढि सवल बनाउन आवश्यक छ । हाम्रो पार्टीप्रति जनताको ठूलो अपेक्षा र सहानुभुति रहेको छ । त्यसलाई हामीले संगठनात्मक र राजनीतिक शक्तिका रुपमा बदल्नुपर्छ । हामीले संगठन विस्तारका कार्यक्रमहरु बनाएका छौं ।’

पार्टीले गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षता, युवक मोर्चाले नागरिकता समस्या र भ्रष्टाचार, विद्यार्थी मोर्चाले संघीयता, महँगी र करवृद्धि, किसान मोर्चाले कृषि, भूमिसुधार र तराईका जनतामाथि भइरहेका शोषण, उत्पीडन तथा डुवानका समस्या, मजदुर मोर्चाले मजदुरका समस्या, महिला मोर्चाले निर्मला पन्तको बलात्कार र हत्यासहित महिला हिंसा तथा अन्य महिला समस्या, जनजाति मोर्चाले जातीय तथा जनजातिका समस्या, समता मोर्चाले सामाजिक भेदभाव र छुवाछुतसमेतका समस्याका बारेमा संघर्ष गर्ने पनि जनाईएको छ ।

त्यस्तै, पार्टीले प्रचार, संगठन र संघर्षका कार्यक्रमहरु आजैबाट सुरु भई चैत्र मसान्तसम्म समापन हुनेपनि जनाएको छ । विज्ञप्तीमा जनाईएअनुसार भदौ महिनामा सबै प्रदेश समन्वय समिति र जिल्ला समितिहरुको बैठक बस्ने, असोज १० गते ७ वटै प्रदेशहरुमा प्रदेशस्तरका सभाहरु आयोजना गर्ने, असोज ११ गतेदेखि कार्तिक महिनाभर प्रचारात्मक कार्यहरु गर्ने, मंसिर महिनाभरि संघर्षको तयारी सम्बन्धी काम र उपनिर्वाचन हुने ठाउँमा निर्वाचनसम्बन्धी काम गर्ने, पुष महिनाभरि घनिभूत संघर्षका कार्यक्रमहरु गर्ने, माघ महिनाभरि संगठनात्मक तयारीका कार्यहरु गर्ने, फागुन महिनाभर पार्टीको संगनात्मक अभियानका कार्यक्रम सञ्चालन गर्ने र चैत्र महिनाभर अखिल नेपाल किसान महासंघको संगठनात्मक अभियानका कार्यक्रमलाई सहयोग गर्ने रहेका छन् ।

अध्यक्ष केसीले संघीयता अहिले सबैलाई भालुको कंचड भएको बताउँदै आफ्नो पार्टीले संघीयताविरोधी काम जारी राख्ने स्पष्ट पारे । ‘संघीयता विद्यार्थीको भरमा भएको हुँदा हामीले विरोधको तयारीका लागि विद्यार्थीहरुलाई मुख्य रुपमा जोड दिएका छौ, तर संविधानको विरोधमा हामी छैनौ’–उनले भने । संघीयताको आवरणमा नेपाललाई धर्मनिरपेक्ष बनाउने र हिन्दुराज्य बनाउने बहानामा फेरी राजसंस्था फर्काउने कार्य भएकोले यसको विरुद्ध आफूहरुको विरोधका कार्यक्रम जारी रहेको प्रस्ट पारे ।

हिजो मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्बदलीय बैठकमा पनि गणतन्त्रमाथि कालो बादल मडारिएको र धर्म निरपेक्षतामाथि शंका भएको कुरा नेताहरुले आँकलन गरेको समेत उनले ठोकुवा गरे । नेपाललाई हिन्दुराज्य बनाउने बाहानामा धर्मनिरपेक्ष बनाउने र गणतन्त्र सिध्याउने कुरामा बाह्य शक्तिको चलखेल भएको हुँदा यसमा नेपाली जनता सतर्क हुनुपर्ने कुरामा समेत उनले जोड दिए ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य दुर्गा पौडेल, महासचिव जनकराज शर्मा, सचिव हिमाल पुरी, कोषाध्यक्ष ओमबहादुर पुरी र केन्द्रिय सदस्यद्धय घनश्याम न्यौपाने र लालबहादुर थापाको पनि उपस्थिति रहेको थियो ।