काठमाडौँ। नेपाल प्रहरीले रसुवाको भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी बाढीपछिको विपद् प्रतिकार्यका क्रममा शव व्यवस्थापन र आश्रयस्थल व्यवस्थापनका क्रममा विभिन्न चुनौतीको सामना गर्नुपरेको बताएको छ ।
शुक्रवार जलवायु परिवर्तन सिर्जित विपद्बारे संसद्ले गठन गरेको अध्ययन समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हिमालयकुमार श्रेष्ठले यस्तो बताउनुभएको हो ।
प्रहरीका लागि सबैभन्दा चुनौतीपूर्ण काम शव व्यवस्थापन भएको उहाँले बताउनु भयो । उहाँले नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालबीच समन्वय गरेर काम गर्दा पनि ठूलो संख्यामा रहेको शव व्यवस्थापनमा कठिनाइ भएको बताउनु भयो ।
उहाँले विपद्को सामना गर्ने क्रममा सुरक्षा निकायले सामना गर्नुपरेको चुनौती र भोग्नुपरेको समस्याले विपद् पूर्वतयारी, स्रोतसाधनको उपलब्धता तथा कार्यविधिमा सुधार गर्नुपर्ने आवश्यकता रहेको देखिएको बताउनु भयो ।
उहाँले बाढी प्रभावित नागरिकलाई तत्काल आश्रय उपलब्ध गराउने होल्डिङ सेन्टर तथा सेल्टर व्यवस्थापनमा पनि अपेक्षित गतिमा काम गर्न कठिनाइ भएको भएको बताउनुभयो ।
उहाँले राहत वितरणका क्रममा सडक सञ्जालको अवस्थाको कारण अपेक्षाकृत कार्य हुन नसकेको बताउनु भयो । विपद्पछिको व्यवस्थापनमा राहत वितरण, प्रभावितको विवरण सङ्कलन तथा प्रोफाइलिङ र अन्य प्रशासनिक काम थपिँदै जाँदा सुरक्षा निकायमाथि कार्यभार बढेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘मोबिलाइजेसन सर्च एन्ड रेस्क्युमा अहिले पनि जारी छ । नेपाल प्रहरीको इन्गेजमेन्टको हिसाबले सबैभन्दा बढी हाम्रो हामी इन्गेज हुनुपरेको र हामीलाई अलिकति च्यालेन्जिङ भएको भनेको डेड बडी म्यानेजमेन्ट हो । डेड बडी म्यानेज गर्नलाई चाहिँ च्यालेन्ज केही हिसाबले भने त्यसको हामीले म्यानेज गर्नलाई धेरै नै गाह्रो भयो । नेपाल आर्मी लगायत हामी सबैजना हामीलाई सबैभन्दा सुरक्षा निकाल्न चाहिँ गाह्रो भएको डेड बडी म्यानेजमेन्ट हो । अनि नागरिकको पीडा ठोक्किने पनि सबैभन्दा पहिले सुरक्षा निकायहरुसँग नै हो नि । यो कार्यमा हाम्रा ल्याकिङहरु कहाँ कहाँ भए भन्ने विषयमा गम्भीर रुपमा समीक्षा गरेर समाधान गर्नुपर्छ ।’
उहाँले विपद् व्यवस्थापनको क्रममा भएको कमजोरीलाई सिकाईको रुपमा लिएर राज्य संयन्त्रलाई अझै बलियो बनाउन आवश्यक रहेको पनि बताउनु भयो । –न्युज एजेन्सी नेपाल








