१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता

राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम

राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम
अ अ+ अ-

काठमाडौँ। राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ वटा बैठक बसेर ९८ घण्टा १० मिनेट सभा सञ्चालन भएको छ ।

अधिवेशनको अन्त्य गर्दै राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रस्तुत गर्नुभएको विवरणअनुसार अधिवेशन २०८३ वैशाख २८ गतेदेखि असोज १६ गतेसम्म १४५ दिन सञ्चालन भएको थियो ।

अधिवेशन अवधिमा ४० वटा बैठकमा शून्य समय सञ्चालन भएको जानकारी दिँदै अध्यक्ष दाहालले भन्नुभयो, “उक्त समयमा ४५ जना सदस्यले पाँच घण्टा ५६ मिनेट र १७ वटा बैठकमा विशेष समय सञ्चालन हुँदा ४७ सदस्यले २१ घण्टा १० मिनेट समय उपयोग गर्नुभएको थियो ।”

उहाँले भन्नुभयो, “चारवटा बैठकमा प्रादेशिक सरोकार समय सञ्चालन भएकामा २७ जना सदस्यले पाँच घण्टा २७ मिनेट तथा नौवटा बैठकमा सञ्चालन भएको आकस्मिक समयमा २२ सदस्यले एक घण्टा ५६ मिनेट समय उपयोग गर्नुभएको थियो ।”

अध्यक्ष दाहालका अनुसार अधिवेशनमा सरकारले पेस गरेका आठ अध्यादेशमध्ये सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश सभाबाट स्वीकृत भएका थिए ।

अधिवेशनका क्रममा राष्ट्रियसभामा उत्पत्ति भएका ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’, ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ र ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पारित गरी सन्देशसहित प्रतिनिधिसभामा पठाइएको उहाँले जानकारी दिनुभयो ।

प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ लाई पनि राष्ट्रियसभाले सहमति प्रदान गरेको पनि अध्यक्ष दाहालले जानकारी दिनुभयो ।

“अधिवेशनमा अध्यादेश प्रतिस्थापन गर्ने छवटा विधेयक पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइएको र ती प्रमाणीकरणसमेत भइसकेका छन् । विनियोजन विधेयक, २०८३, आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ दुवै सदनबाट पारित भई प्रमाणीकरण भएका छन्”, उहाँले भन्नुभयो, “त्यस्तै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ राष्ट्रियसभामा टेबुल गरिएको थियो । उक्त विधेयकसमेत यसै अधिवेशनमा प्रमाणीकरण भएको छ ।”

विपद् व्यवस्थापनमा विशेष प्रस्ताव

अधिवेशनका क्रममा राष्ट्रियसभाले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो । यसैगरी गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावितको उद्धार, राहत, पुनःस्थापना, सम्पर्कविहीनको खोजी, घाइतेको निःशुल्क उपचार, शव व्यवस्थापन तथा भौतिक संरचनाको पुनर्निर्माणमा सरकारको विशेष ध्यानाकर्षण गराइएको थियो ।

अध्यक्ष दाहालका अनुसार भविष्यमा विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी उपाय अवलम्बन गर्न तथा सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरी नागरिक समाज, निजी क्षेत्र, विकास साझेदार र अन्तरराष्ट्रिय समुदायसँग सहकार्य गर्नसमेत सरकारलाई आग्रह गरिएको थियो ।

त्यसैगरी, मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीसम्बन्धी ध्यानाकर्षण प्रस्ताव सभाबाट सर्वसम्मतिले स्वीकृत गरी गृह मन्त्रालयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो ।

अध्यक्ष दाहालका अनुसार अधिवेशन अवधिमा भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमनका लागि संसदीय विशेष समिति गठन गरिएको थियो ।

अधिवेशनमा ३५ वटा मौखिक प्रश्नोत्तर

अधिवेशनमा १५ मन्त्रालयसँग सम्बन्धित ३५ वटा मौखिक प्रश्नोत्तर सञ्चालन भएको थियो । परराष्ट्र, कानुन, न्याय तथा संसदीय मामिला र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित तीनवटा लिखित प्रश्नको उत्तर सम्बन्धित मन्त्रीले राष्ट्रियसभामा टेबुल गर्नुभएको थियो ।

त्यस्तै, अर्थ, गृह र पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित राष्ट्रियसभामा प्रस्तुत हुन नसकेका सातवटा मौखिक र एउटा लिखित प्रश्नको उत्तरसमेत टेबुल भएको थियो । यस अवधिमा सङ्कल्प प्रस्तावका रूपमा प्रविधिको प्रयोगबाट हुने लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण तथा महिलाको हक संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्नेसम्बन्धी प्रस्ताव तथा सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानुन निर्माणसम्बन्धी प्रस्ताव सभाबाट सर्वसम्मतिले पारित भएको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।

अध्यक्ष दाहालले चालु आर्थिक वर्षमा सरकारले सङ्घीय संसद्मा १६६ वटा विधेयक पेस गर्ने प्राथमिकता तय गरी संसद् सचिवालयमा पठाएको जानकारी दिनुभयो ।

पहिलो चौमासिकमा ६४ वटा विधेयक पेस गर्ने प्राथमिकता रहेकामा चालु आर्थिक वर्षमा सङ्घीय संसद्मा २४ वटा विधेयक दर्ता भएको र त्यसमध्ये प्रतिनिधिसभामा २२ तथा राष्ट्रियसभामा दुईवटा मात्रै विधेयक दर्ता भएको उहाँले बताउनुभयो ।

राष्ट्रियसभाले सरकारले ल्याएका विधेयकलाई प्राथमिकताका साथ छलफल गरी यथाशीघ्र पारित गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले राष्ट्रियसभामा विधेयक कम पेस भएकाले कामकाज प्रभावित भएको जानकारी दिनुभयो ।

त्यसैगरी, अध्यक्ष दाहालले अधिवेशन सफलतापूर्वक सञ्चालनमा सहयोग गर्ने उपाध्यक्ष, समिति सभापति, सांसद, सङ्घीय संसद्का महासचिव, राष्ट्रियसभाका सचिव, सचिवालयका कर्मचारी, नेपाल सरकार, सञ्चारमाध्यम, नागरिक समाज तथा आम नागरिकप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा राष्ट्रियसभाको गरिमा र प्रभावकारिता अभिवृद्धिका लागि सबै पक्षबाट थप महत्त्वपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले नजिकिँदै गरेका बडादसैँ, तिहार, छठ, नेपाल संवत्, इदलगायत पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै आगामी २२औँ अधिवेशनमा सुखद् भेटको अपेक्षा व्यक्त गर्नुभयो । रासस