१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न—फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब
अ अ+ अ-

गुल्मी। खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले आफ्नो जीविकोपार्जनको मुख्य आधारका रूपमा अघि बढाएको पाइएको छ ।

कृषि कर्मका अन्य विधाको तुलनामा खसीबोकाबाट छोटो समयमै राम्रो आम्दानी लिन सकिने भएपछि यसतर्फ किसानको आकर्षण बढेको हो । खसीबोका विक्रिबाट जिल्लामा वार्षिक करिब रु एक अर्ब बराबरसम्मको कारोबार हुने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमाकान्त पाण्डेयले जानकारी दिनुभयो ।

गुल्मीमा उत्पादित खसीबोका स्थानीय बजारमा मात्र नभई बाहिरी जिल्लामा समेत निर्यात हुँदै आएको उहाँको भनाइ छ । जिल्लाका प्रत्येक पालिकाबाट वार्षिक करिब ४६ हजार खसीबोका उत्पादन हुने गरेको तथा हाल करिब दुई लाखको सङ्ख्यामा बाख्रा रहेको पशु सेवा केन्द्र गुल्मीले जनाएको छ ।

प्रमुख पाण्डेयका अनुसार जिल्लाबाट वार्षिक १४ हजार ६०० खसीबोका बाहिरी जिल्लामा निर्यात हुने गरेका छन् । उहाँका अनुसार जिल्ला बाहिर निर्यात हुने खसीबोकाबाट वार्षिक करिब रु २६ करोड २८ लाख जिल्ला भित्रिने गरेको छ । जिल्लामा उत्पादित खसी बोका उचित मूल्यमा सहज रूपमा घरबाटै बिक्री हुने भएकाले पनि किसानलाई यो व्यवसायप्रतिको आकर्षण बढेको हो ।

जिल्लाका सबै पालिकामा पालिने भए पनि खासगरी धुर्काेट पालिका मासुमा आत्मनिर्भर छ । यहाँ उत्पादिन खसी बोका जिउँदो प्रतिकिलो ५५० का दरले बिक्री वितरण हुँदै आएको धुर्काेट गाउँपालिका अध्यक्ष भूपाल पोखरेल बताउनुभयो ।

स्थानीय चन्द्रबहादुर खड्काको खोरबाट यस वर्ष पनि ७० किलो तौलसम्मका खसीबोका बिक्री भएका छन् । धुर्काेट क्षेत्रमा उत्पादिन खसीबोका बुटवललगायतका सहरमा पठाइने गरेको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । गुल्मीको स्थानीय बजारमा खसी र बोकाको मासु प्रतिकिलो रु ९५० का दरले बिक्री हुँदै आएको छ । त्यस्तै जिल्लाका विभिन्न पालिकामा व्यावसायिक रूपमा बाख्रापालन हुँदै आएको छ । यहाँ उत्पादित केही उन्नत जातका बोका प्रजननका लागि समेत अन्य जिल्लामा पठाइने गरेको छ । जिल्लामा खासगरी जमुनापारी खरीक्रस, बोयर खरीक्रस र सिरोही खरीक्रस जातका बाख्रापालन हुँदै आएको केन्द्रले जनाएको छ ।

वार्षिक करिब ६०० को सङ्ख्यामा प्रजननका लागि बोका जिल्ला बाहिर बिक्री हुने गरेको छ । त्यस्तै वार्षिक १४ हजार खसीबोका मासुका लागि जिल्ला बाहिर बिक्रीका लागि पठाइने गरिएको छ ।

पछिल्लो आर्थिक वर्षमा स्थानीय तह तथा घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका ४२१ वटा बाख्रा फार्ममा करिब दुई लाख बाख्रा रहेको विज्ञ केन्द्रले जनाएको छ ।

पशु सेवा विज्ञ केन्द्रले बाख्रापालन गर्ने किसान तथा समूहलाई खोर निर्माण, उन्नत जातका बीउ बोका, औषधि उपचार, खोप, मेसिनरी सामग्री खरिदलगायत प्राविधिक क्षेत्रमा सहयोग गर्दै आएको प्रमुख पाण्डेयले बताउनुभयो । कार्यालयले किसानका फार्ममै पुगेर बाख्रामा लाग्ने विभिन्न रोगविरुद्ध निःशुल्क खोप कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । त्यसबाट बाख्रामा लाग्ने महामारीजन्य रोग नियन्त्रण तथा क्षति न्यूनीकरणमा सहयोग पुगेको कार्यालयले जनाएको छ ।

खसीबोका पालनबाट राम्रो आम्दानी हुँदै आए पनि युवको विदेश पलायन र बसाइँसराइलगायत कारणले पछिल्लो समय व्यावसायिक किसानको सङ्ख्या भने तुलनात्मक रूपमा घट्दै गएको अनुमान गरिएको छ ।

खसीबाख्राका लागि आवश्यक खुराक घाँस तथा व्यवस्थापन गर्ने जनशक्तिको अभावजस्ता समस्या बाख्रापालन व्यवसायमा रहेको रेसुङ्गा कृषि तथा पशुपन्छी फार्मका सञ्चालक केशर रजालीले बताउनुहुन्छ । रासस