काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देललाई नियुक्त गरेको छ।
भेरी अस्पताल विकास समिति (गठन) आदेश, २०७६ को दफा ३ को उपदफा (२) को खण्ड (क) बमोजिम रिक्त अध्यक्ष पदका लागि मन्त्रालयले सूचना प्रकाशित गरी उम्मेदवारबाट आवेदन माग गरेको थियो। आवेदन दिएका उम्मेदवारमध्ये १० जनालाई अन्तर्वार्ताका लागि छनोट गरिएको थियो।
अन्तर्वार्तामा सहभागी १० जना उम्मेदवारको मूल्याङ्कनपछि विज्ञ टोलीले सिग्देललाई अध्यक्ष पदमा नियुक्त गर्न मन्त्रालयसमक्ष सिफारिस गरेको थियो।
विज्ञ टोलीको सिफारिसका आधारमा मन्त्रालयले सिग्देललाई भेरी अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको हो।








