काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङको राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गर्दै आर्थिक वर्ष २०७६/७७ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट प्राप्त सशर्त अनुदान रकम हिनामिना तथा हानिनोक्सानी गरेको आरोप लगाएको हो।

राइनास नगरपालिकाले उक्त कार्यक्रम सञ्चालनका लागि प्राप्त १६ लाख ७२ हजार रुपैयाँ तोकिएको कार्यक्रम सञ्चालन नगरी हिनामिना गरेको आयोगको आरोप छ।
आयोगले तत्कालीन रोजगार संयोजक न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अधिकारी, तत्कालीन लेखापाल नवीनकुमार बराल, वडा नम्बर १ का तत्कालीन वडाध्यक्ष रमेश न्यौपाने, वडा नम्बर ३ का तत्कालीन वडा सदस्य ओजराज पौडेल, वडा नम्बर ४ का तत्कालीन वडाध्यक्ष जैमान गुरुङ, वडा नम्बर ५ का तत्कालीन वडाध्यक्ष नन्दबहादुर कुमाल, वडा नम्बर ६ का तत्कालीन वडाध्यक्ष रूकबहादुर तामाङ गुरुङ, वडा नम्बर ८ का तत्कालीन वडाध्यक्ष कृष्णप्रसाद लामिछाने र वडा नम्बर ७ का तत्कालीन वडाध्यक्ष माधवप्रसाद पराजुलीलाई प्रतिवादी बनाएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार प्रतिवादीहरूले मिलेमतो गरी सरकारी रकम हिनामिना गरेको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा मुद्दा दायर गरिएको हो।
आयोगले प्रतिवादीहरूबाट फरकफरक बिगो कायम गरी कैद सजाय तथा बिगोबमोजिम जरिवाना असुलउपर गर्न मागदाबी गरेको छ ।







