काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न नदी तथा खोलामा पानीको बहाव बढेसँगै बाढीको जोखिम बढेको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आइतबार देशभरका नदी तथा खोलामा बाढीको जोखिम रहेको जनाएको हो । महाशाखाका अनुसार गण्डकी प्रदेशका केही जिल्ला बाढीको अति उच्च जोखिममा रहेका छन् ।
महाशाखाका असिस्टेन्ट हाइड्रोलोजिस्ट प्रभाकर यादवका अनुसार गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा भएको वर्षाका कारण नारायणी बेसिनअन्तर्गत म्याग्दी र कालीगण्डकीलगायत नदीमा पानीको सतह उल्लेख्य बढेको छ । नारायणी बेसिनका त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती र नारायणी नदीमा पनि पानीको बहाव बढेको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार यी नदीमा आइतबार दिउँसोसम्म पानीको बहाव थप बढेर त्यसपछि क्रमशः घट्दै जाने अनुमान छ । तर सोमबार पुनः बहाव उल्लेख्य बढ्न सक्ने पूर्वानुमान गरिएको छ ।
कोशी बेसिनअन्तर्गत सप्तकोशी, तमोर, अरुण र दूधकोशीलगायत नदीमा पनि पानीको बहाव बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । ती नदीमा सोमबारसम्म बहाव बढ्ने र त्यसपछि सामान्य घटबढ हुने अनुमान गरिएको छ ।

त्यस्तै, कर्णाली, चेपाङ र ठूलीभेरीलगायत नदीमा पानीको बहाव बढेर क्रमशः घट्दै जाने तथा महाकाली र कन्काई नदीमा पनि बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ । कमला नदी भने सामान्य अवस्थामा फर्किएको र सोमबारदेखि सामान्य रहने महाशाखाले जनाएको छ ।
पूर्वी राप्ती, तिनाउ, बाणगङ्गा र बबई नदीमा समेत पानीको बहाव बढ्ने अनुमान गरिएको छ । रातिको बाढीका कारण तिनाउमा पानीको बहाव उल्लेख्य बढ्ने र त्यसपछि क्रमशः घट्दै जाने यादवले बताउनुभयो ।
कुन क्षेत्रमा कस्तो जोखिम ?
महाशाखाले बाढीको जोखिमलाई न्यून, मध्यम, उच्च र अति उच्च गरी विभिन्न तहमा वर्गीकरण गरेको छ ।
बारा, पर्सा, रौतहट, काठमाडौं, काभ्रेपलाञ्चोक र भक्तपुरलगायत जिल्लामा बाढीको न्यून जोखिम रहेको छ । गोरखा, रसुवा, धादिङ र नुवाकोटमा मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ । यी क्षेत्रमा नदी तथा खोलामा पानीको बहाव बढे पनि सावधानी तहभन्दा तलै रहने अनुमान गरिएको छ ।
कपिलवस्तु र रुपन्देहीमा बाढीको उच्च जोखिम रहेको छ । ती क्षेत्रमा नदी तथा खोलाको पानी सावधानी तहभन्दा माथि पुग्न सक्ने भएकाले सतर्क रहन र नदी तथा खोलाबाट टाढा रहन महाशाखाले आग्रह गरेको छ ।
मुस्ताङ, मनाङ, कास्की, म्याग्दी, तनहुँ, नवलपरासी र चितवनलगायत जिल्लालाई बाढीको अति उच्च जोखिम क्षेत्रमा राखिएको छ । यी क्षेत्रमा नदी तथा खोलामा पानीको बहाव अत्यधिक बढ्न सक्ने तथा आकस्मिक बाढीको जोखिम रहेकाले सुरक्षित स्थानमा रहन र सम्भावित जोखिम भएका क्षेत्रबाट टाढा जान महाशाखाले आग्रह गरेको छ ।
काठमाडौं उपत्यकामा पनि वर्षाका कारण खोलानालामा पानीको बहाव बढ्ने भए पनि तत्काल ठूलो बाढीको अवस्था नरहेको महाशाखाले जनाएको छ । आगामी २४ घण्टासम्म उपत्यकामा मध्यम जोखिम रहने र सोमबारदेखि नदी तथा खोलानाला सामान्य अवस्थामा फर्किने अनुमान गरिएको छ ।
महाशाखाले उच्च तथा अति उच्च जोखिम भएका क्षेत्रमा नदी, खोला तथा बाढी प्रभावित क्षेत्रबाट टाढा रहन र सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई आग्रह गरेको छ।







