काठमाडाैँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा सूर्यविनायक क्षेत्रमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार रहेको बताउनुभएको छ ।
विश्व पर्यटन दिवसका अवसरमा भक्तपुर नागरिक समाजले आज आयोजना गरेको ‘भक्तपुरमा पर्यटनको सम्भावना र अवसर’ विषयक कार्यक्रममा उहाँले सूर्यविनायक क्षेत्रमा प्राणी उद्यान निर्माण गरी त्यसलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताउनुभयो ।

मुख्यमन्त्री थापामगरले राष्ट्रिय प्राणी उद्यान निर्माणका लागि आवश्यक समन्वय र सहकार्य गर्न प्रदेश सरकार तयार रहेको उल्लेख गर्नुभयो । उहाँले भक्तपुरको पर्यटन विकासका लागि प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै नयाँ पर्यटकीय गन्तव्यको विकासमा जोड दिनुपर्ने बताउनुभयो ।
तत्कालीन सरकारले सूर्यविनायकस्थित वन क्षेत्रलाई राष्ट्रिय प्राणी उद्यानका रूपमा विकास गर्ने उद्देश्यले विसं २०७३ मा उद्यान निर्माणको शिलान्यास गरेको थियो । वन तथा भूसंरक्षण मन्त्रालयले सूर्यविनायक र अनन्तलिङ्गेश्वर नगरपालिका क्षेत्रका वन समेटेर राष्ट्रिय प्राणी उद्यान विकासको काम अघि बढाएको थियो ।
प्रस्तावित राष्ट्रिय प्राणी उद्यानमा सातवटा सामुदायिक वन तथा राष्ट्रिय वनको केही भागसहित कुल २४५ दशमलव १६५ हेक्टर वन क्षेत्र समेटिएको छ ।







