काठमाडाैँ । अविरल वर्षाका कारण मधेस प्रदेशका विभिन्न जिल्लामा बाढी र पहिरोले जनजीवन प्रभावित भएको छ । प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा परेका छन् भने पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओमप्रकाश खनालका अनुसार धनुषाको मिथिला नगरपालिका–११ अपागाछीकी ३५ वर्षीया कमला श्रेष्ठको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

निरन्तरको वर्षाका कारण सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा निजी घर तथा अन्य भौतिक संरचनामा क्षति पुगेको प्रहरीले जनाएको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका, हनुमाननगर कङ्कालिनी नगरपालिका तथा सीमावर्ती क्षेत्रमा मात्रै करिब २५० घर डुबानमा परेका छन् । यस्तै, हनुमाननगर कङ्कालिनी नगरपालिका–७, ११ र १२ मा कोशी बाँधको दक्षिणतर्फका करिब २०० घरमा पानी पसेको प्रवक्ता खनालले जानकारी दिनुभयो ।
वर्षा नरोकिएका कारण डुबान र क्षतिको विवरण थप बढ्न सक्ने प्रहरीले जनाएको छ । स्थानीय प्रशासन तथा सुरक्षा निकायले प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि आवश्यक समन्वय गरिरहेका छन् ।







