काठमाडाैँ । रसुवाको भोटेकोशी बाढीबाट क्षतिग्रस्त नुवाकोटको बेलकोटगढीस्थित पिमलटार–जागाराम झोलुङ्गे पुलको पुनर्निर्माण सम्पन्न भएको छ । पुनर्निर्माण कार्य पूरा भएसँगै पुलबाट आवतजावत पूर्णरूपमा सञ्चालनमा आएको छ ।
बाढीबाट क्षतिग्रस्त पुलका बटारिएका लठ्ठा सोझ्याउने, ह्यान्डरेल केबल फेर्ने तथा स्टिल डेक र बिम जडान गर्ने काम सम्पन्न भएपछि आज जाली राख्ने कार्यसमेत पूरा गरिएको हो । त्यससँगै पुल सर्वसाधारणका लागि पुनः सञ्चालनमा ल्याइएको हो ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास विभागले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त झोलुङ्गे पुलको पुनर्निर्माण तथा मर्मत कार्यलाई तीव्रता दिएको जनाएको छ ।
सरकारको तीव्र पहलकदमीसँगै धादिङ, नुवाकोट र गोरखामा रहेका अन्य १२ वटा क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत कार्यसमेत अन्तिम चरणमा पुगेको छ ।








