काठमाडौँ। जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा नेपाल विजयी भएको छ । नेपालले थाइल्यान्डलाई पराजित गरेको हो ।
समूह ‘बी’ मा रहेको नेपालले जापानको टोकाइ सिटिजेनमा आज भएको पहिलो खेलमा थाइल्यान्डलाई ४६–४३ अङ्कले पराजित गरेको हो । खेलको पहिलो हाफमा नेपालले कमजोर खेल प्रदर्शन गरेको थियो । नेपाल पहिलो हाफमा १५–२४ अङ्कले पछि परेको थियो ।
नेपालले दोस्रो हाफमा पुनरागमन गरेको थियो । दोस्रो हाफमा नेपालले ३१ अङ्क जोड्न सफल भयो । थाइल्यान्डले भने १९ अङ्क मात्र जोड्न सक्यो । समूह ‘बी’ मा नेपाल र थाइल्यान्डका साथै श्रीलङ्का र चाइनिज ताइपेइ रहेका छन् । नेपालले बुधबार समूह चरणको दोस्रो खेलमा चाइनिज ताइपेइसँग खेल्ने महिला टोलीका प्रशिक्षक पार्वती राईले जानकारी दिइन् । उनले आजको खेलबाट नेपाली टोली उत्साहित भएको बताइन् ।
चार टोली सहभागी समूह ‘बी’बाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । यस्तै समूह ‘ए’ मा भारत, बङ्गलादेश, जापान र इरान रहेका छन् ।
यसअघि सन् २०२३ मा चीनको हाङझाउमा सम्पन्न १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालले महिला कबड्डीमा कास्य पदक प्राप्त गरेको थियो । रासस








