काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रियालाई थप व्यवस्थित र सहज बनाउन यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच मंगलबार त्रिपक्षीय सम्झौता भएको छ।
पूर्वाधार विकास मन्त्रालयमा भएको सम्झौताअनुसार यातायात व्यवस्था विभागले सञ्चालन गर्दै आएको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत जारी हुने लाइसेन्सको विवरण सोझै सुरक्षण मुद्रण केन्द्रको प्रणालीमा पठाइनेछ। उक्त विवरणका आधारमा सुरक्षण मुद्रण केन्द्रले लाइसेन्स छपाइ गर्ने व्यवस्था गरिएको छ।
छपाइ भएका लाइसेन्स सम्बन्धित प्रदेश कार्यालयमा वितरण गर्ने तथा सेवाग्राहीले इच्छाएको ठेगानामा पुर्याउने कार्यलाई हुलाक सेवा विभागमार्फत व्यवस्थित गरिनेछ।
सम्झौताले लाइसेन्स छपाइदेखि वितरणसम्मको प्रक्रियालाई थप व्यवस्थित बनाउँदै सेवाग्राहीले सहज रूपमा लाइसेन्स प्राप्त गर्ने वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।








