काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ का लागि नतिजामुखी र जवाफदेही कार्यसम्पादनमा जोड दिँदै सचिव, सहसचिवहरू तथा राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य–सचिवसँग कार्यसम्पादन सम्झौता गरेको छ।
माननीय मन्त्री सिता बादीको उपस्थितिमा सम्पन्न सम्झौतामा मन्त्रालयको वार्षिक नीति, कार्यक्रम तथा लक्ष्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ। सम्झौतामार्फत जिम्मेवारीअनुसार निर्धारित लक्ष्य हासिल गर्ने, कार्यक्रम कार्यान्वयनलाई समयबद्ध बनाउने तथा प्राप्त उपलब्धिको नियमित समीक्षा गर्ने व्यवस्था अघि सारिएको छ।
मन्त्रालयका सचिव तथा सहसचिवहरूले आफूलाई तोकिएका जिम्मेवारी र कार्यक्षेत्रअनुसार नीति तथा कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य–सचिवले पनि बाल अधिकार संरक्षण तथा प्रवर्द्धनसँग सम्बन्धित कार्यक्रमलाई परिणाममुखी बनाउने गरी कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाएका छन्।
सम्झौताले मन्त्रालयअन्तर्गत सञ्चालन हुने कार्यक्रमको नियमित अनुगमन तथा मूल्याङ्कनलाई समेत प्राथमिकतामा राखेको छ। कार्यसम्पादनको प्रगति, लक्ष्य प्राप्तिको अवस्था र देखिएका चुनौतीको नियमित समीक्षा गरी आवश्यक सुधारका कदम चालिने अपेक्षा गरिएको छ।
मन्त्रालयले नीति तथा कार्यक्रम कार्यान्वयनमा जिम्मेवारी स्पष्ट पार्दै कामको परिणामप्रति सम्बन्धित पदाधिकारीलाई थप जवाफदेही बनाउने उद्देश्यले सम्झौतालाई कार्यान्वयनको महत्वपूर्ण आधारका रूपमा लिएको जनाएको छ।
मन्त्री बादीको उपस्थितिमा भएको कार्यसम्पादन सम्झौताले मन्त्रालयको सेवा प्रवाह, कार्यक्रम कार्यान्वयन र संस्थागत जवाफदेहितालाई थप प्रभावकारी बनाउँदै आर्थिक वर्ष २०८३/८४ का निर्धारित लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।








