६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव News Polar सल्यानमा स्क्रब टाइफसको महामारीः सात जनाको मृत्यु, परीक्षण किटको अभावले जोखिम बढ्यो News Polar त्रिपुरेश्वर बस चालक आत्मदाह प्रकरणले संसद तरंगितः ट्राफिक ज्यादती र युवा निराशामाथि सांसदहरूको आक्रोश News Polar चालक आत्मदाह प्रकरणमा न्यायिक छानबिन समिति गठन गर्न यातायात व्यवसायी र श्रमिकको माग News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकको प्रतिवेदन मस्यौदा समितिमा पेश

चालक आत्मदाह प्रकरणमा न्यायिक छानबिन समिति गठन गर्न यातायात व्यवसायी र श्रमिकको माग

चालक आत्मदाह प्रकरणमा न्यायिक छानबिन समिति गठन गर्न यातायात व्यवसायी र श्रमिकको माग
अ+ अ-

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बस चालक दावा लामाले आत्मदाह गरी ज्यान गुमाएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न यातायात व्यवसायी तथा श्रमिकका विभिन्न संघ–महासंघले माग गरेका छन् ।

६ वटा महासंघ तथा संघ–संगठनले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै चालक लामाको मृत्युको घटनालाई सामान्य चालक र ट्राफिक प्रहरीबीचको विवादका रूपमा मात्रै नहेरी कानुन कार्यान्वयन गर्ने निकायको कार्यशैली, व्यवहार र सडक शासन प्रणालीसँग जोडेर अनुसन्धान गर्नुपर्ने माग गरेका हुन् ।

संयुक्त विज्ञप्तिमा नेपाल ट्रक यातायात व्यवसायी महासंघ, नेपाल यातायात राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, सार्वजनिक यातायात केन्द्रीय महासंघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।

उनीहरूले घटनाको सम्पूर्ण पक्ष छानबिन गर्न सरोकारवालासहितको न्यायिक छानबिन समिति गठन गर्नुपर्ने बताएका छन् । विवाद सुरु भएदेखि चालकले आत्मदाह गर्दासम्मको घटनाक्रम, घटनास्थल तथा आसपासका सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीको भनाइ, फोन सम्पर्क विवरण र सम्बन्धित प्रहरी अधिकारीको भूमिकासमेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने उनीहरूको माग छ ।

संयुक्त विज्ञप्तिमा असाेज ५ गते मूलपानीबाट यात्रु लिएर थानकोट भञ्ज्याङतर्फ जाँदै गरेको बा.५ख ४२७४ नम्बरको बस त्रिपुरेश्वरस्थित आँखा अस्पतालअगाडि पुगेका बेला मोटरसाइकलका कारण सडक आवागमनमा अवरोध भएपछि चालक लामाले हर्न बजाएको उल्लेख गरिएको छ । हर्न बजाएको विषयमा ट्राफिक प्रहरीले बस रोकेर कागजात मागेको र कारबाही गर्न खोजेको दाबी विज्ञप्तिमा गरिएको छ ।

विज्ञप्तिअनुसार त्यसपछि थप ट्राफिक प्रहरी घटनास्थलमा पुगेका थिए । बसलाई राहदानी विभागअगाडि रोकेर यात्रुलाई ओरालिएको र करिब दुई घण्टासम्म चालकलाई नियन्त्रणमा राखिएको उल्लेख छ । त्यसपछि चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, बग्गीखाना लैजान खोजिएको र लामाले त्यसको प्रतिवाद गरेको दाबी गरिएको छ ।

घटनापछि ट्राफिक प्रहरी कार्यालयबाट सवारीधनीलाई फोन गरी चालकलाई बग्गीखाना पठाइदिन भनिएको तथा सवारीधनीले चालकसँग सम्पर्क गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस क्रममा लामाले आफूले गल्ती नगरेको भन्दै बग्गीखाना जान अस्वीकार गरेको र आफूले ट्राफिक प्रहरीबाट मानसिक दबाब तथा हैरानी खेपेको बताएको सवारीधनीको भनाइ उद्धृत गरिएको छ ।

सवारीधनीले चालकले बताएको अवस्थाबारे सम्बन्धित ट्राफिक प्रहरी अधिकारी तथा कार्यालयलाई जानकारी गराए पनि केही समयपछि लामाले बसको ढोका बन्द गरी आफ्नै शरीरमा आगो लगाएको र बससमेत जलेको विज्ञप्तिमा उल्लेख छ ।

यातायात व्यवसायी तथा श्रमिकका संगठनहरूले चालकलाई करिब दुई घण्टा नियन्त्रणमा राखिएको अवस्थामा आत्मदाह र सवारीसाधनमा आगजनी भएको घटनाले गम्भीर प्रश्न उठाएको बताएका छन् । उनीहरूले चालक लामालाई आत्मदाहसम्म पुग्ने अवस्था कसरी सिर्जना भयो भन्ने विषयमा तथ्यपरक अनुसन्धान आवश्यक रहेको बताएका छन् ।

उनीहरूले मृतक चालकको परिवारलाई तत्काल राहत, उचित क्षतिपूर्ति तथा पुनःस्थापनाको व्यवस्था गर्न र पूर्ण रूपमा जलेको सवारीसाधनका धनीलाई समेत क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् ।

त्यस्तै, सबै यातायात श्रमिकलाई श्रम ऐन, २०७४ अनुसार रोजगार सम्झौता गरेर मात्रै काममा लगाउने व्यवस्था गर्न तथा सामाजिक सुरक्षा योजनामा अनिवार्य रूपमा आबद्ध गराउन माग गरिएको छ ।

ट्राफिक प्रहरीबाट हुने दुर्व्यवहार, अनावश्यक हैरानी तथा कानुनी र प्रक्रियागत समस्याबारे तत्काल उजुरी गर्न सकिने २४ घण्टे हेल्पलाइन र सुनुवाइ प्रणाली स्थापना गर्नुपर्ने माग पनि उनीहरूको छ । सडकमा ट्राफिक प्रहरीले गर्ने चेकजाँच, कारबाही र चालकसँगको व्यवहार निर्धारित कानुनी प्रक्रिया तथा आचारसंहिताअनुसार भए–नभएको नियमित अनुगमन र छानबिन गर्ने संयन्त्र बनाउन पनि उनीहरूले माग गरेका छन् ।

विज्ञप्तिमा ट्राफिक प्रहरीको कामलाई प्रविधिमैत्री र जनमुखी बनाउनुपर्ने, चेकजाँच तथा कारबाहीको अनुगमन र नियमन प्रभावकारी बनाउनुपर्ने तथा सडक तथा सवारीसम्बन्धी कानुनअनुसार ट्राफिक प्रहरीलाई प्रत्यायोजन गरिएको अधिकारको पुनरावलोकन गर्नुपर्ने माग गरिएको छ ।

यातायात श्रमिकको कार्यस्थल सुरक्षा र मानसिक सुरक्षालाई पनि यातायात सुरक्षाकै विषयका रूपमा राज्यको नीतिमा समेट्नुपर्ने उनीहरूको माग छ । साथै, देशभरका सडकमा आवश्यक बसबिसौनी, यात्रु चढ्ने–ओर्लने स्थान, शौचालय, भोजनालय, विश्रामस्थललगायतका पूर्वाधार व्यवस्थित, सुरक्षित र श्रमिकमैत्री बनाउन माग गरिएको छ ।

संयुक्त विज्ञप्तिमा माग पूरा नभएसम्म आन्दोलन जारी राख्न छ वटै महासंघ तथा संघ–संगठनका अध्यक्ष सम्मिलित संयुक्त संघर्ष समिति गठन गरिएको जानकारी दिइएको छ । माग तत्काल सम्बोधन नभए शान्तिपूर्ण, लोकतान्त्रिक तथा कानुनसम्मत रूपमा थप संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत उनीहरूले दिएका छन् ।