काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले त्रिपुरेश्वरमा बसभित्रै चालक अर्जुन दोङले आत्मदाह गरेको घटनाले राज्यको सुरक्षा संयन्त्र, प्रहरीको कार्यशैली र यातायात व्यवसायीको भूमिकामाथि गम्भीर प्रश्न खडा गरेको बताउनुभएको छ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै धितालले चालक दोङको निधनप्रति दुःख व्यक्त गर्दै चालक र नागरिकसँग प्रहरीले गर्ने व्यवहार तथा सडकमा अपनाइने प्रहरी कार्यशैलीबारे तत्काल समीक्षा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।
उहाँले त्रिपुरेश्वर क्षेत्रमा यसअघि गणेश नेपालीले आत्मदाह गरेको घटना र हालै अर्जुन दोङको आत्मदाहको घटनाले सडक सुरक्षा र सडक व्यवस्थापनसँग जोडिएका संवेदनशील विषयलाई उजागर गरेको बताउनुभयो।
‘आत्महत्या वा आत्मदाहलाई महिमामण्डन गर्ने मेरो उद्देश्य होइन, तर यी दुई घटनाले हाम्रो सडक सुशासन र प्रहरीको व्यवहारमा सुधारको आवश्यकतालाई स्पष्ट संकेत गरेका छन्,’ उहाँले भन्नुभयो, ‘वर्दी लगाएका राष्ट्रसेवकहरूप्रति उच्च सम्मान छ। तर सडकमा चालकसँग गरिने व्यवहार वा प्रहरी कार्यशैलीमा कतै गम्भीर समस्या त छैन भन्ने प्रश्न उठेको छ।’
धितालले प्रहरीको तालिम र कार्यशैलीमा समस्या भए तत्काल सुधार गर्नुपर्ने बताउनुभयो। उहाँले चालकहरूले दैनिक हजारौं यात्रुको जीवनको जिम्मेवारी वहन गर्ने भए पनि उनीहरूको आत्मसम्मान, पारिश्रमिक, काम गर्ने समय र मानसिक स्वास्थ्यका विषयमा राज्यको पर्याप्त ध्यान पुग्न नसकेको बताउनुभयो।
‘न्यून तलब र अपमानजनक व्यवहारले उनीहरूमा मानसिक विचलन आउनु स्वाभाविक छ,’ उहाँले भन्नुभयो, ‘केवल चालकलाई दोष थोपरेर समस्याको समाधान निस्कँदैन।’
मनोसामाजिक क्षेत्रको विज्ञतासमेत रहनुभएकी धितालले चालकको जीवनसँग जोडिएका आर्थिक तथा मानसिक पक्षलाई राज्य र यातायात व्यवसायीले गम्भीर रूपमा लिनुपर्ने बताउनुभयो। यस्ता विषयलाई बेवास्ता गर्दा थप दुःखद् घटना निम्तिन सक्ने उहाँको भनाइ थियो।
उहाँले सरकार, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीलाई आ–आफ्नो कार्यशैलीको समीक्षा गरी आवश्यक सुधार गर्न आग्रह गर्नुभयो। साथै, अर्जुन दोङ र गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यस्ता घटना दोहोरिन नदिन ठोस नीतिगत तथा संरचनागत सुधार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।








