काठमाडाैँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सञ्चारकर्मीहरूले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र स्थापित अभ्यासलाई ध्यान दिनुपर्ने बताउनुभएको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमाले निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले प्रश्न सोध्नुअघि सम्बन्धित व्यक्तिसँग अनुमति लिनुपर्ने धारणा राख्नुभयो। उहाँले कुनै भनाइ वा अन्तर्वार्ता प्रकाशित गर्नुअघि पनि सम्बन्धित व्यक्तिलाई जानकारी गराउने अन्तर्राष्ट्रिय अभ्यास रहेको दाबी गर्नुभयो।
ओलीका अनुसार पत्रकारले प्रश्न सोध्नुअघि सम्बन्धित व्यक्तिसँग प्रश्न गर्न मिल्ने वा नमिल्नेबारे अनुमति लिनुपर्ने र प्रश्नको जवाफ प्रकाशित गर्नुअघि त्यसबारे जानकारी गराउनुपर्ने हुन्छ।
उहाँले सञ्चारकर्मीलाई अनुमति नलिई माइक अगाडि ल्याएर प्रश्न नगर्न आग्रह गर्नुभयो।
“दुनियाँभरि पत्रकारिताको के नियम हुन्छ भने तपाईंसँग प्रश्न सोध्न सकिन्छ भनेर अगाडि सोधिन्छ। प्रश्न सोधेपछि त्यसलाई प्रकाशित गर्नुभन्दा अगाडि तपाईंले भन्नुभएको कुरा हामी प्रकाशित गर्दैछौँ, गरौँ ? भनेर सोध्छ,” ओलीले भन्नुभयो।
उहाँले सञ्चारकर्मीहरूले माइक अगाडि ल्याएर जबर्जस्ती प्रश्न गर्ने शैलीप्रति असन्तुष्टि जनाउँदै त्यस्तो नगर्न आग्रह गर्नुभयो। “तपाईंहरू ल्याएर थुतुनो घोचेर, मुखमा घोचेर त्यस्तो नगर्नुहोस्,” उहाँले भन्नुभयो।
ओलीले पत्रकारिता गर्दा सम्बन्धित व्यक्तिको सम्मान, अनुमति र पत्रकारिताको मर्यादालाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो।








