काठमाडौं । मौसमविद् उज्ज्वल उपाध्यायले असोज ८ देखि ११ गतेसम्म नेपालमा भीषण वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
उपाध्यायले सामाजिक सञ्जालमार्फत बंगालको खाडीमा विकसित ‘अर्नब’ नामक चक्रवातसहित सोही समयमा विकसित भइरहेका अन्य मौसमी प्रणालीका कारण पछिल्ला मौसम पूर्वानुमान मोडेलहरूले अवस्था गम्भीर देखाएको बताएका छन्।
उनका अनुसार असोज १० गते वर्षासम्बन्धी जोखिम सबैभन्दा बढी हुनसक्ने देखिएको छ। यद्यपि, अहिले नै निश्चित रूपमा ठूलो क्षति हुने निष्कर्षमा पुग्न नहुने उनको भनाइ छ।
गत वर्ष २०८२ कात्तिकमा आएको शक्तिशाली ‘मोन्था’ चक्रवातले भारतको पूर्वी समुद्री तटमा ठूलो क्षति पुर्याए पनि नेपाल आइपुग्दा कमजोर भई न्यूनचापीय प्रणालीमा परिणत भएको उदाहरण दिँदै उपाध्यायले यसपटक पनि अवस्था केही अनुकूल बन्ने आशा व्यक्त गरेका छन्।
उनले मौसम प्रणालीमा हुने परिवर्तनलाई निरन्तर निगरानी गरिरहेको उल्लेख गर्दै आगामी दिनमा थप अपडेट दिइरहने बताएका छन्।
उपाध्यायले सम्भावित जोखिमलाई लिएर सर्वसाधारणलाई नडराउन र नआत्तिन आग्रह गर्दै सजग तथा हदैसम्म सावधान रहन अपिल गरेका छन्।








