सात वर्षअघि हामीले एउटा संकल्पका साथ पत्रकारिताको यो पछिल्लो र नयाँ विधा अनलाइनको नयाँ संस्करण सुरु गर्दा हामीले कोभिड १९ महामारी या युक्रेन युद्धका कारण उत्पन्न हुनसक्ने कठिन परिस्थितिको आँकलन नै गरेका थिएनौँ । तर, पछि भैदियो त्यस्तै । हामीले नागरिकलाई सत्य, तथ्यपरक, विश्वसनीय र समयमै सूचना उपलब्ध गराउने प्रणका साथ न्यूजपोलार प्रकाशनको पाइला चाल्दा जति उत्साहित थियौँ, एकाध समयपछि त्यसमा केही समस्या त उत्पन्न भयो तर हामी विचलित भने भएनौँ ।
स्थापनाको केही समयमै विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ महामारीले समाजका हरेक क्षेत्रलाई प्रभावित बनायो । पत्रकारिता क्षेत्र पनि त्यसबाट अछुतो रहन सकेन । आर्थिक गतिविधिमा आएको संकुचन, विज्ञापन बजारमा परेको असर, प्रविधि र जनशक्ति व्यवस्थापनका चुनौती तथा पछिल्ला वर्षहरूमा देखिएका विभिन्न आर्थिक मन्दी र संकटका बीच पनि हाम्रो यात्रामा कुनै अवरोध उत्पन्न भएन । हामी निरन्तर पाठकसमक्ष सूचना र समाचार पुर्याउने प्रयासमा लागिरह्यौँ ।
आर्थिक समस्या लगायतको यो कठिन परिस्थितिले हामीलाई एउटा महत्वपूर्ण पाठ भने सिकायो पत्रकारिता केवल व्यवसाय होइन भनेर । यो पेशा विशुद्ध व्यवसाय होइन बरु नागरिकप्रतिको जिम्मेवारी हो । हामीले यो सिद्धान्त र दायित्वलाई अंगिकार गर्यौँ, महामारीका समयमा नागरिकको सुरक्षाका लागि हामीले सूचनाले औषधिको काम गर्न सक्छ भन्ने ठानेर निरन्तर सूचना नै पस्किने काम गर्यौँ ।
लोकतान्त्रिक समाजमा नागरिकको सूचनाको हक सुनिश्चित गर्न स्वतन्त्र, निष्पक्ष र उत्तरदायी सञ्चारमाध्यमको भूमिका अपरिहार्य हुन्छ भन्ने ठान्यौँ र सोही बमोजिम काम पनि गर्यौँ ।
यी र यस्तै अरु पनि चुनौती हाम्रा सामू अए । जस्तो कि अहिले पनि हामी भोटेकोशी बाढीको वितण्डाले निम्त्याएको विपतमा छौँ । तर पनि हाम्रा सामू सहन गर्न सक्ने क्षमता बाहेक अरु केही छैन । यो परिस्थितिमा हामीले हाम्रा सूचना सम्प्रेषणका कर्मबाट नै नागरिकलाई सान्त्वना प्रदान गर्ने र राज्यलाई नागरिकमाथि न्यायपूर्ण रुपमा पुनर्स्थापनाका लागि घच्घचाउने काम गरिरहेका छौँ । जेनजी आन्दोलनका क्रममा भएको विध्वंस र नागरिक हताहतिका समयमा राज्यलाई आफ्ना कर्तब्यबाट च्युत नहुन र नागरिकलाई देशको माटोको माया गर्न हामीले गरेका प्रयासहरु त हाम्रा प्रिय पाठक र शुभेच्छुकहरु सामु छर्लङ्ग नै छ ।
गएको यो सात वर्षको अवधिमा हामीले यस्ता धेरै विषय तथा मुद्दालाई पाठकसमक्ष ल्याएका छौँ । हामीले पत्रकारिताको मूल मर्म आवाजविहीनहरुको आवाज हो भन्ने नै ठानेको छौँ र समाजका आवाजविहीन र सीमान्तकृत समुदायका सवालदेखि सार्वजनिक सरोकारका विषयसम्मको वकालत गरिरहेका छौँ । साथै विकास निर्माणदेखि शासन–प्रशासनका गतिविधिसम्म र स्थानीय घटनादेखि राष्ट्रिय महत्वका विषयसम्म समाचार सम्प्रेषण गर्ने क्रममा हामीले आफ्नो भूमिका निर्वाह गर्ने प्रयास गरेका छौँ ।
हामीलाई सदा के विश्वास छ भने पत्रकारिताको सबैभन्दा ठूलो पूँजी भनेको विश्वसनियता हो । एउटा गलत सूचना वा अपुष्ट समाचारले पाठकको विश्वासमा असर पार्न असरको आँकलन गर्न बडो कठिन हुन्छ । त्यसैले हिजोका दिनमा जस्तै आगामी दिनमा पनि तथ्यको पुष्टि, स्रोतको विश्वसनीयता, सन्तुलित प्रस्तुति र सार्वजनिक उत्तरदायित्वलाई अझ प्राथमिकतामा राख्ने काममा हामी कदापि पछि हट्ने छैनौँ । सत्य र विश्वाससँग हामीले हिजो जस्तै भोलि पनि कुनै सम्झौता नगर्ने प्रण आज पनि पुनः दोहोर्याउन चाहन्छौँ ।
तर हिजोजस्तो परिस्थिति आज छैन । आजका दिनमा प्रविधिको तीव्र विकास र सामाजिक सञ्जालको विस्तारसँगै हाम्रा निष्पक्ष पत्रकारिताका कर्ममा चुनौतीहरू पनि बदलिएका छन्, थपिएका छन् । हिजो जस्तो सूचनाका दायरा साँघुरा छैनन्, अहिले थप फैलिँदै छन् दिनदिनै । तर सूचना जति धेरै छ, त्यति सही सूचना पहिचान गर्न कठिन छ । गलत सूचना, भ्रामक सामग्री र अपुष्ट दाबीको भीडमा तथ्यपरक पत्रकारिताको आवश्यकता अझ बढेको छ । यस्तो अवस्थामा हामी जिम्मेवार डिजिटल पत्रकारिताको अभ्यासलाई थप सुदृढ गर्दै अघि बढ्नेछौैँ ।
त्यसैले हामीले हिजो भन्ने गरेजस्तै आगामी दिनमा हाम्रो प्राथमिकता केवल समाचारको संख्या बढाउनु होइन, समाचारको गुणस्तर र सार्वजनिक उपयोगिता बढाउनुमा हुनेछ । नागरिकका सरोकार, प्रश्न र आवाजलाई प्राथमिकताका साथ उठाउँदै सार्वजनिक निकायलाई जवाफदेही बनाउन पत्रकारिताको निगरानीकारी भूमिकालाई प्रभावकारी बनाउने हाम्रो प्रयास रहनेछ ।
आज सातौँ वर्ष प्रवेशको यो पुनित अवसरमा हामी हाम्रा पाठक, शुभेच्छुक, विज्ञापनदाता, समाचार स्रोत, सहकर्मी पत्रकार तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा हाम्रो यात्रामा साथ दिनुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौँ । हामीलाई विश्वास छ यहाँहरुको विश्वास हिजोजस्तो भोलि पनि निरन्तर रहने नै छ ।त्यसैले यहाँहरुको साथ नै हाम्रो यात्राको मुख्य ऊर्जा भएर रहने छ ।








