काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्पछिको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका काममा सरकारका विभिन्न निकायबीच निरन्तर समन्वय भइरहेको बताउनुभएको छ ।
बुधवार सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलगायत विभिन्न मन्त्रालय, विभाग र सरकारी संयन्त्र विपद् व्यवस्थापनमा सक्रिय रहेको बताउनुभयो ।
उहाँका अनुसार विपद्पछि सरकारले प्रारम्भिक चरणमा खोजी तथा उद्धारलाई प्राथमिकता दिएको थियो भने अहिले राहत वितरणको काम भइरहेको छ । भौगोलिक जटिलताका कारण राहत वितरणमा केही व्यावहारिक कठिनाइ र कमजोरी देखिन सक्ने भए पनि सम्बन्धित निकायले निरन्तर काम गरिरहेको उहाँले बताउनुभयो ।
लामिछानेले अब पुनःस्थापना र पुनर्निर्माणको दीर्घकालीन चरणमा सरकार प्रवेश गरेको उल्लेख गर्दै त्यसका लागि सम्बन्धित मन्त्रालय, विभाग तथा प्राधिकरणहरूले योजना निर्माण र कार्यान्वयनको काम अघि बढाइरहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘विपद् व्यवस्थापनमा विभिन्न मन्त्रालय, विभाग र सम्बन्धित निकायहरू संलग्न छन् । सबैले आ–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहे पनि आवश्यक समन्वय निरन्तर भइरहेको छ ।’
सरकारका नीतिगत निर्णयदेखि फिल्डस्तरको कार्यान्वयनसम्मका काम निरन्तर भइरहेको दाबी गर्दै लामिछानेले सरकारको कामकारबाही सार्वजनिक रहेको बताउनुभयो । मन्त्रिपरिषद्का निर्णयसमेत सार्वजनिक भइरहेकाले सरकारको कार्यसम्पादनबारे नागरिकले मूल्यांकन गर्न सक्ने उहाँको भनाइ थियो ।
रास्वपाभित्रैबाट सरकारको कामकारबाहीप्रति हुने आलोचनाबारे लामिछानेले पार्टीभित्र आन्तरिक लोकतन्त्र बलियो भएकाले नेताहरू तथा सांसदहरूले आफ्ना धारणा स्वतन्त्र रूपमा राख्ने गरेको बताउनुभयो । आफ्नै सरकारको आलोचना गर्नु पनि लोकतान्त्रिक अभ्यास भएको उहाँको दाबी थियो ।
नेता तथा सांसदहरूको अभिव्यक्ति दिने शैली फरक–फरक हुने भएकाले त्यसलाई पार्टीभित्रको ठूलो असहमतिको विषयका रूपमा लिन नहुने उहाँले बताउनुभयो ।
सर्वदलीय बैठकमा पछिल्लो विपद्को व्यवस्थापनसँगै सरकारका कामको समन्वय, राहत तथा पुनःस्थापना र जलवायु परिवर्तनका विषयमा छलफल भएको थियो । बैठकले सर्वदलीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने तथा संसद्मा विशेष समिति गठनका लागि पहल गर्ने विषयमा समेत छलफल गरेको लामिछानेले जानकारी दिनुभयो ।









