इण्डोनेसिया। इण्डोनेसियाको जाभा समुन्द्रमा यात्रुवाहक पानीजहाज सम्पर्कविहीन भएपछि भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १३० जना अझै बेपत्ता छन् ।
दुर्घटनामा १०७ जनाको उद्धार गरिएको राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले आइतबार जनाएको छ । इण्डोनेसियाका यातायातमन्त्री डुडी पुर्वागन्धीले आईतवार दिउँसो पत्रकार सम्मेलनमा हेलिकप्टरबाट गरिएको अवलोकनअनुसार पानीजहाज पल्टिएको तर पूर्ण रूपमा नडुबेको बताएका छन् ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । यसअघि राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले पानीजहाज डुबेको जनाएको थियो ।
दुर्घटनामा परेको ‘भर्गो ट्रान्सपोर्ट ८’ नामक पानीजहाजमा चालक दलसहित कुल २४३ जना सवार थिए। आइतबार बिहान करिब २ बजे खराब मौसमका कारण समस्या आएपछि जहाजसँग सम्पर्क विच्छेद भएको अधिकारीहरूले बताएका छन् ।
जहाज शनिबार पूर्वी जाभा प्रान्तको सुराबायाबाट दक्षिण कालिमन्तान प्रान्तको बन्जारमासिनतर्फ प्रस्थान गरेको थियो । इण्डोनेसियास्थित चिनियाँ वाणिज्य दूतावासले सम्बन्धित अधिकारीहरूसँग पुष्टि गरेअनुसार जहाजमा कुनैपनि चिनियाँ नागरिक नरहेको जनाएको छ ।
बेपत्ता यात्रुहरूको खोजी तथा उद्धारका लागि इण्डोनेसियाली अधिकारीहरूले घटनास्थल नजिकै सुरक्षाकर्मी, उद्धार जहाज र हेलिकप्टर परिचालन गरेका छन् ।
करिव १७ हजार टापु रहेको इण्डोनेसियामा टापुहरूबीच आवतजावतका लागि फेरि तथा अन्य समुन्द्री यातायातमा ठूलो निर्भरता छ । खराब मौसम, समुन्द्री अवस्था तथा जहाजको सुरक्षासम्बन्धी समस्याका कारण त्यहाँ समय–समयमा समुन्द्री दुर्घटना हुने गरेका छन् । सिन्ह्वाको/ न्युज एजेन्सी नेपाल









