२८ भाद्र २०८३, आईतवार
,
Latest
ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी ‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो



अ+ अ-

बाढीले पूर्ण क्षति बनाएका रसुवा, नुवाकोट र धादिङका विद्यालयले विद्यार्थीहरूलाई एकै ठाउँमा भेला गरेर मनोपरामर्श दिँदै पढाइ सुरु गरेर बाढीको पीडा भुलाउन चाहेका छन् । तर, विद्यालय सञ्चालनका लागि संरचना जुटाउनै सकस भएको छ । 

गत भदौ १० गते आएको बाढीले नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका ११ वटा भवनको कुनै नामोनिसान बाँकी राखेन । त्रिशूली नदी किनारको विद्यालय परिसर अहिले बगर बने पनि प्रधानाध्यापक राजेन्द्र दवाडी विद्यालय सञ्चालनको योजनामा छन् । features-1719398032.png

रसुवाको उत्तरगया गाउँपालिकाको बेत्रावती नजिकैको कक्षा सातसम्म पढाइ हुने मोडर्न ट्रिनिटी इंग्लिस बोर्डिङ स्कुलका सञ्चालक तथा प्रिन्सिपल सुरोज डंगोल, शिक्षक सुष्मा तामाङ र १० विद्यार्थी बाढीमा बेपत्ता भए ।

घरमा भएका बालबच्चालाई सुरक्षित स्थानमा राख्न आग्रह गर्दै विद्यालयमा आइसकेका विद्यार्थीलाई आफूले सुरक्षित राख्ने भनेर सुरोजले भदौ १० गते बिहान ९ बजेर १२ मिनेटमा अभिभावकको ह्वाट्सएप ग्रुपमा भ्वाइस म्यासेज पठाएका थिए । विद्यालय आइसकेका विद्यार्थी जोगिए पनि सुरोज आफैं बाढीमा बेपत्ता भए ।

सुरोजको काजकिरिया पनि भइसक्यो । श्रीमान् सुरोजसहित ५७ जना १३ दिने आफन्त बाढीमा बेपत्ता भएको पीडा भुलाएर व्यवस्थापक सिर्जना भण्डारी डंगोलले विद्यालय सञ्चालन गर्न चाहेकी छन् । भन्छिन्, “पहिला विद्यालय भएको ठाउँमा अहिले खोला बग्छ, विद्यालय चलाउन ठाउँको अभाव छ ।”

सरकार, निजी विद्यालय छाता संगठन प्याब्सन र समुदायको साथ पाएमा विद्यालय ब्युँताउन सकिनेमा ढुक्क रहेकी उनी साथ र सहयोगको खोजीमा काठमाडौं आएकी छन् ।

भदौ १० गतेको बाढीले बेत्रावतीको मोडर्न ट्रिनिटी, त्रिभुवन मावि मात्रै होइन, रसुवा, नुवाकोट र धादिङका ११ वटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ । जसमा ८ वटा सामुदायिक, २ वटा संस्थागत र एउटा धार्मिक विद्यालयमा छन् ।

मोडर्न ट्रिनिटीका अभिभावक सुरज प्याकुरेलले आफ्ना नानीबाबु पढ्ने स्कुल बाढीले बगाएपछि अब कहाँ पढाउने भन्ने अन्योल भएको बताए । “चारै जना त्यही स्कुलमा पढ्थे । स्कुलको नामोनिसाना छैन,” उनले भने, “अब त स्कुल पठाउनुपर्ने, कहाँ पढाउने होला ? थाहा छैन ।” बोगटीटार घर भएका उनका बालबालिका प्ले ग्रुपमा, यूकेजी, ४ कक्षा र ६ कक्षामा पढ्छन् ।

बाढीबाट प्रभावित विद्यालयका सञ्चालक, शिक्षक र अभिभावकले पढनपाठन सुरु गर्न चाहे पनि ठाउँकै अभाव देखिएको छ । विद्यार्थी र अभिभावकले कहिलेदेखि कक्षा सुरु हुन्छ भनेर सोधिरहेको तर ठाउँ व्यवस्थापनमा समस्या भएकोले ढिलाइ भएको त्रिभुवन त्रिशूली माविका प्रधानाध्यापक राजेन्द्र दवाडीले बताए ।

बाढीले आफन्त गुमाएका होस् वा घरबार बगाएर मानसिक रूपमा विक्षिप्त भएका विद्यार्थीलाई एकै ठाउँमा भेला गरेर सान्त्वना दिन चाहेको प्रधानाध्यापक राजेन्द्रले बताए । “एक–अर्काबीच पीडा साटासाट गरेर मन हलुको पार्न चाहन्छौँ,” उनी भन्छन्, “आफ्ना विद्यार्थीलाई सँगै राखेर विज्ञ र चिकित्सकमार्फत मनोपरामर्श लिन चाहन्छौँ ।”

Tribhuvan-Trishuli-School-NIMJN-1789283139.png
त्रिभुवन त्रिशूली माबिको फेसबुक पेजमा रहेको भवनको तस्बिर (इन्सेटमा) र बाढीपछि बगर बनेको विद्यालय परिसर । तस्बिर : सुफल काफ्ले/निमजिन

१ हजार ६ सय ४३ जना विद्यार्थी अध्ययनरत यो स्कुलका एक जना विद्यार्थी बेपत्ता छन् । अधिकांश विद्यार्थी विद्यालय आइसकेको बेलामा बाढी आएको भए पनि पूर्वसूचना पाएर विद्यालयले विद्यार्थीलाई सुरक्षित ठाउँमा पुर्‍याएको थियो ।

“विद्यालयको संरचना पो बगाएको हो त, विद्यार्थी र शिक्षक त सुरक्षित छाँै,” उनी भन्छन्, “बाढी आउनु एकछिनअघि एकै ठाउँमा थियौँ, अहिले तितरबितर भएका छौँ, स्कुल फेरि सुरु गरेर हामी एकै ठाउँमा हुन खोजिरहेका छौँ ।”

ठाउँ नै नभएकालाई भवनको आश्वासन 

बाढीले शिक्षा क्षेत्रमा पारेको असर अनुगमन गर्न शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल भदौ २३ मा विदुर गएका थिए । जनप्रतिनिधि र त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसमेतको छलफलमा उनले ठाउँको व्यवस्थापन भएपछि संघीय सरकारले नयाँ भवन बनाइदिने आश्वासन दिए ।

तर विद्यालयलाई पछि बन्ने भवनभन्दा पनि अहिले तत्काल नियमित कक्षा चलाउन आवश्यक ठाउँकै अभाव छ । विदुर नगरपालिकाले डिही बजारमा रहेको संघीय सरकार र प्रदेश सरकारका मातहतमा रहेका भवन र जमिन प्रयोग गरी अस्थायी सिकाइ केन्द्र निर्माणका लागि अनुमति पनि दिएको छ । सहरी विकास तथा भवन निर्माण विभागलाई संरचना उपलब्ध गराइदिन पत्राचार पनि गरिसकेको छ । तर नियमित कक्षा चलाउने योजनाले सार्थकता पाउन सकेको छैन ।

त्यहाँ रहेको वाग्मती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको प्रदेश कार्यालयले भवन प्रयोग गर्न नदिने भएपछि विद्यालय सञ्चालन अनिश्चित भएको हो । “हामीले जुन संरचना प्रयोग गरेर विद्यार्थीलाई एकै ठाउँमा राखेर तत्काललाई मनोपरामर्श सुरु गर्न चाहेका थियौँ, प्रदेशको कार्यालयका कर्मचारीको अवरोधले रोकियो,” विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले भनिन्, “मुख्यमन्त्रीज्यूसँग पनि कुरा भएको छ । सायद चाँडै टुंगिन्छ होला ।”

नगरपालिकाले विद्यालय चलाउन प्रदेश बाधक बनेको आरोप लगाए पनि वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भरत केसी त्यसलाई मान्न तयार छैनन् । नगरपालिकाले अस्थायी रूपमा कक्षा सञ्चालन गर्न अनुमति दिएको स्थानमा प्रदेशको पनि सहयोग हुने उनले बताए । “हामी सहयोग गर्छौँ,” उनले भने ।

प्रदेशले बाढी प्रभावित विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरेर आवासीय संरचना बनाउने निर्णयसमेत गरिसकेको उनले बताए । “अहिले नियमित कक्षा सञ्चालन गर्न प्रदेशको संरचना र जग्गा भएको ठाउँमा हामी उपलब्ध गराउँछौँ,” वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भरतले भने, “दीर्घकालीन रूपमा पनि विस्थापित भएका विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउने संरचनामा लगानी गर्छौँ ।”

पूर्ण रूपमा क्षति भएका विद्यालय सञ्चालनका लागि सहयोग गर्न दाता पनि तयार रहेको त्रिभुवन त्रिशूली माविका प्रधानाध्यापक राजेन्द्र बताउँछन् । विद्यार्थीलाई आवश्यक पर्ने शैक्षिक सामग्री, विद्यार्थीलाई पोसाक दिने पनि छन् । तर, ठाउँ अभावले शिक्षक र विद्यार्थी भेट हुनै नपाएको उनले बताए । “तत्काल विद्यालय सञ्चालन गर्न दाताले शैक्षिक संरचना पनि दिन तयार छन् । संघीय सरकारले भवन बनाइदिने पनि भनेका छन् । तर, जग्गा पाएको छैन ।”

बाढीले साढे ९ हजारको पढाइ प्रभावित

रसुवा, नुवाकोट र धादिङका बाढीबाट क्षति भएका ११ वटा बाहेक थप १४ वटा विद्यालयमा पनि पढाइ रोकिएको छ । मन्त्रालयका अनुसार रसुवाका २ हजार २ सय ५०, नुवाकोटका ३ हजार ७ सय १७, धादिङका ३ हजार ४ सय ६३ जना विद्यार्थी गरी ९ हजार ४ सय ३० जना विद्यार्थी पढाइबाट वञ्चित भएका छन् ।

विद्यार्थीको पढाइ रोकिनुमा विद्यालय भवन क्षति हुनु मात्र कारण बनेको छैन, मन्त्रालयका अनुसार २ हजार २ सय जनाभन्दा धेरैका लागि आश्रयस्थलको रूपमा ३ जिल्लाका १४ वटा विद्यालय प्रयोग भएका छन् । जसले गर्दा ती विद्यालयमा पनि पढाइ रोकिएको छ ।

“केही विद्यालय बाढीबाट प्रत्यक्ष प्रभावित नभए पनि होल्डिङ सेल्टरको रूपमा हुँदा गम्भीर रूपमा प्रभावित भएका छन्,” बाढीले पुर्‍याएको क्षतिको अनुगमन गर्न मन्त्रालयबाट नुवाकोटमा खटिएका उपसचिव जीवन भण्डारीले भने, “तिनका लागिसमेत वैकल्पिक व्यवस्था आवश्यक छ ।”

होल्डिङ सेल्टर र राहतको काम भइरहेका कारण पढाइ प्रभावित भएकामध्येको एउटा विद्यालय हो– रसुवाको उत्तरगया गाउँपालिकाको नीलकण्ठ माध्यमिक विद्यालय । यो विद्यालयको कक्षा कोठामा राहत थुपारिएको छ । भवनमा सेना, र सशस्त्र प्रहरीको ब्यारेक बनाइएको छ । विद्यालयको कार्यालयबाट भने गाउँपालिकाको काम चलिरहेको छ ।

विद्यार्थी खेल्ने खेलमैदानमा राहत ल्याउने र सहयोगी संस्थाका गाडी पार्किङ गरिएको छ । “पालिकाभरिको राहत विद्यालयमै राखिएको छ, पालिकाको कार्यालय पनि विद्यालयबाटै चलेको छ,” प्रधानाध्यापक माधव लामिछानेले भने, “जति ठाउँ खाली छ, त्यसमा विद्यार्थी भेला गरेर परामर्श थालेका छौँ ।”

नदीको किनारभन्दा निक्कै माथि रहेकाले यो विद्यालयको भौतिक संरचनालाई कुनै असर गरेको छैन । तर, विद्यार्थी र शिक्षक गुमाएको विद्यालय शोकमा छ । बाढीमा परेर १ सय २ जना जना विद्यार्थी, ३ जना शिक्षक र १ जना कर्मचारी बेपत्ता भएका उनले बताए । यहाँ ५ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

यो विद्यालयमा अध्ययन गर्नेमा नुवाकोटको विदुर र बट्टारका र उत्तरगयाकै त्रिशूली नदीपारिका पनि छन् । पुल र सडक बाढीले बगाएका कारण विदुर, बट्टार र त्रिशूली नदीपारिसँग नीलकण्ठ माविको सिधा सम्पर्क टुटेको छ । त्यो क्षेत्रका विद्यार्थीको अवस्था बुझ्न विद्यालयले त्यसै क्षेत्रमा बस्ने शिक्षक खटाएको छ ।

पूर्ण क्षति भएका विद्यालय सार्नुपर्ने

बाढीले बगाएर पूर्ण क्षति भएका विद्यालय त्यही ठाउँमा पुनः सञ्चालनको सम्भावना नभएको शिक्षा मन्त्रालयमा खटिएको अध्ययन टोलीको निष्कर्ष छ । प्रभावित विद्यालयहरूमा भवन, कक्षाकोठा, शौचालय, खानेपानी, कम्पाउन्ड तथा पहुँच पूर्वाधार पूर्ण रूपमा क्षतिग्रस्त भई तत्काल स्थानान्तरण आवश्यक भएको नुवाकोटको अनुगमनबाट फर्किएका उपसचिव जीवन भण्डारीले बताए । “विद्यालय भएको ठाउँमा खोला बगिरहेको छ, फेरि त्यही ठाउँमा संरचना बनाउने सम्भावना हुँदैन,” उनले भने, “अर्को ठाउँमा विद्यालय स्थानान्तरण जरुरी छ ।

बाढीले विद्यालय भवन मात्र बगाएको छैन, सडक, पुल, सञ्चारसहितका अन्य आवश्यक भौतिक संरचनामा पनि क्षति गरेको छ । बाढीले पुल बगाउँदा कतिपय बस्ती र विद्यालयबीच सम्बन्ध नै टुटेको छ । कतिपय विद्यालयका सञ्चालक, शिक्षक, विद्यार्थी तथा उनीहरूका आफन्त बाढीमा परेर बेपत्ता छन् ।

Betrawoti-Bazar-NIMJN-1788405029.jpg
बाढीले बगर बनाएको बेत्रावती बजार । तस्बिर : रजनीश भण्डारी/निमजिन ।

यतिसम्म कि विद्यालय र समुदायबीच समन्वय हुन नसक्दा कति विद्यार्थी बेपत्ता छन् भन्ने यकिन तथ्यांक आउन नसकेको मन्त्रालयबाट अनुगमनमा रसुवा गएका डा. श्याम आचार्यले बताए ।

रसुवामा आवासीय विद्यालयबाहेक अर्को विकल्प नभएको उनलेले बताए । “पूर्ण क्षति भएका विद्यालयमा विद्यार्थी न्यून छन्, उनीहरूका लागि नजिकैको अर्को विद्यालयमा आवासीय व्यवस्था नै उपयुक्त हुन्छ,” उनले भने ।

प्रभावित विद्यार्थीलाई आवासीय सुविधा

रसुवा गएको टोलीको नेतृत्व गरेका उपसचिव श्याम आचार्यले बाढीले क्षति भएको विद्यालय पुनःसञ्चालन गर्नका लागि अस्थायी सिकाइ केन्द्र बनाउनेभन्दा पनि ती विद्यालयका विद्यार्थीलाई नजिकैका ठूला विद्यालयमा आवासीय सुविधासहित पढाउने व्यवस्था गर्न सुझाव दिएका छन् ।

“सिकाइ केन्द्र बनाए वर्षात्का बेला हिलो पस्ने समस्या हुन्छ । विद्यार्थी पनि न्यून छन्,” उनी भन्छन्, “अति प्रभावित क्षेत्रमा विद्यालय संरचना बनाउने सम्भावना पनि छैन । त्यसैले नजिकैको विद्यालयमा आवासको व्यवस्था गर्नु उपर्युक्त हुन्छ ।”

रसुवाकै केही विद्यालयका आधाभन्दा बढी विद्यार्थी बाढीमा बेपत्ता छन् । बाढीबाट जोगिएका पनि विस्थापित भएका छन् । पूर्ण रूपमा नष्ट भएको टिमुरेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा ३५ जना विद्यार्थी भएकामा २५ जना बेपत्ता भएका छन् । १० जना अन्यत्र विस्थापित भएको प्रधानाध्यापक फुर्वा दोर्जे घलेले बताए ।

उत्तरगया गाउँपालिका–४ कुवापानीको मालिका देवी आधारभूत विद्यालय पूर्ण रूपमा क्षति भएको छ । १८ जना विद्यार्थी रहेकामा ११ जना बेपत्ता छन् भने ७ जना विस्थापित भएका प्रधानाध्यापक पूर्णबहादुर घलेले बताए । यस्ता विद्यालयका विद्यार्थीलाई नजिकैको अरू विद्यालयमा सार्नुपर्ने सुझाव उपसचिव श्याम आचार्यको छ ।

स्याफ्रुबेँसी, टिमुरेका विद्यार्थीलाई ठूलो स्याफ्रुको कुमिन माध्यमिक विद्यालयमा व्यवस्थापन गर्न सकिने उनले बताए । यो विद्यालयमा हिमाली छात्रावास र शिक्षक बाससमेत भएकाले २ हजार जनासम्म विद्यार्थीलाई पढाउन सकिन्छ । त्यस्तै १ सय जनासम्मलाई छात्रावासमा राख्न सकिन्छ ।

बाढीबाट क्षति नभएका विद्यालयले सरकारले सहयोग गर्ने हो भने अतिरिक्त विद्यार्थीलाई पढाउन सक्ने बताएका छन् । “२ सय जनालाई ५ हजार रुपैयाँका दरले छात्रवृत्ति दिने हो भने बाढीपीडित विद्यार्थीलाई आवासीय व्यवस्था गर्न सक्छौँ,” उत्तरगयाको नीलकण्ठ माध्यमिक विद्यालयका प्रधानाध्यापक माधव लामिछाने भन्छन् ।

विद्यालयको संरचना अपुग भएमा नजिकै २० वटाभन्दा बढी कोठा भएको व्यक्तिको घर खाली भएकाले भाडामा लिएर भए पनि व्यवस्थापन गर्ने उनले बताए । सडक र पुल बगेका कारण सिधा सम्पर्क टुटेका ठाउँका विद्यार्थीलाई आवासीय सुविधा दिनुको विकल्प नभएको उनले बताए ।

नुवाकोटमा बाढीले बगाएको विद्यालयका विद्यार्थीलाई अर्को विद्यालयमा व्यवस्थापन गर्ने गरी कार्ययोजना बनाइरहेको विदुर नगरपालिकाको उपमेयर प्रभा बोगटीले बताइन् । “जुन विद्यालयको संरचना छैन त्यसमा पढ्ने विद्यार्थीलाई आवाससहितको अर्को विद्यालयमा व्यवस्थापन गर्छौँ,” उनले भनिन् ।

राष्ट्रिय बालअधिकार परिषद्का सदस्यसचिव दुर्गाप्रसाद चालिसेले बाढीपीडित बालबालिकाको अधिकारमा कुनै कमी हुन नदिन सम्बन्धित मन्त्रालयसँग समन्वय भइरहेको बताए ।

स्थानीय तहबाट आएको तथ्यांकमा आमाबुबा दुवै गुमाएका १ सय २ जना बालबालिकाको विवरण रहेको भन्दै उनले थप पहिचान गरेर उनीहरूलाई ललितपुरमा अस्थायी आवास बनाएर व्यवस्थापन गर्न लागेको बताए । “हामीले अभिभावकविहीन बालबालिकाको पहिचान गरेर उनीहरूको व्यवस्थापनमा बढी चासो दिएका छौँ,” उनले भने, “उनीहरूको आवश्यकता के हो ? कसरी व्यवस्थापन गर्ने भनेर फिल्डमा कर्मचारी खटाएका छौँ ।”

कभर तस्बिर : बेत्रावती बजारमा बाढीले बगाएको मोडर्न ट्रिनिटी इंग्लिस बोर्डिङ स्कुलको बस । तस्बिर : रजनीश भण्डारी/निमजिन ।

यो सामग्री मूलरूपमा www.nimjn.org मा प्रकाशित भएको हो ।