काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले करिब ५० वर्षदेखि बिग्रिँदै आएको काठमाडौं महानगर पछिल्लो समय सफा, सुन्दर र व्यवस्थित बनाउने दिशामा अघि बढेको बताएका छन्।
काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव समारोहमा आइतबार बोल्दै आचार्यले महानगरमा भएका पछिल्ला सकारात्मक कामलाई निरन्तरता दिँदै सम्पदा संरक्षण, सरसफाइ र सौन्दर्यीकरणमा थप ध्यान दिनुपर्ने बताए।
उनले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण भएका फल्चाले मौलिक सम्पदा र संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताए। बाहिरबाट हेर्दा फल्चा बस्ने वा ओत लाग्ने सामान्य ठाउँजस्तो देखिए पनि यसको संरचनाभित्र काठमाडौंको मौलिक सम्पदा र सांस्कृतिक पहिचान लुकेको उनको भनाइ थियो।
आचार्यले काठमाडौंलाई ‘देवताहरूको सहर’का रूपमा चित्रण गर्दै यहाँका नागरिकले पनि सहर र सम्पदालाई देवताकै रूपमा मानेर संरक्षण गर्नुपर्ने बताए।
“करिब ५० वर्षअघिदेखि नै महानगर बिग्रिन सुरु भएको हो। तर अब जति बिग्रिनु थियो, धेरै बिग्रिसकेको छ। पछिल्लो समय भने महानगर सफा, सुन्दर र व्यवस्थित बनाउने केही राम्रा कामहरू भएका छन्,” उनले भने।
आचार्यले केही महिनाअघि भारतीय युट्युबरहरूले काठमाडौंको सरसफाइ र सौन्दर्यबारे तयार पारेको सामग्री आफूले हेरेको पनि सुनाए। भारतीय सञ्चारमाध्यम तथा युट्युबरहरूले काठमाडौं सफा र सुन्दर बन्दै गएको भन्दै प्रशंसा गरेको देख्दा आफूलाई गर्व लागेको उनले बताए।
“काठमाडौं अहिले कति सफा र सुन्दर देखिएको छ, यसबाट हामीले पनि सिक्नुपर्छ भन्ने आशयका सामग्री भारतीय युट्युबमा हेर्न पाएँ। त्यो देख्दा नेपाली भएको नाताले हाम्रो गर्वले छाती फुलेको छ,” उनले भने।
महानगरको विकास र संरक्षणमा महानगरवासीको पनि महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै आचार्यले आफ्नो सहरप्रति सबै नागरिक जिम्मेवार बन्नुपर्नेमा जोड दिए। उनले महानगरले थालेका सकारात्मक कामलाई निरन्तरता दिँदै काठमाडौंको मौलिक पहिचान, सम्पदा, सरसफाइ र सुन्दरताको संरक्षणमा सामूहिक प्रयास आवश्यक रहेको बताए।









