काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढ्दै गएको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले ब्रिक्स प्लस देशहरूको दिल्लीमा भइरहेको शिखर सम्मेलनका क्रममा पारित १४० बुँदे प्रस्ताव तथा चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच भएको द्विपक्षीय वार्ताका संकेत सकारात्मक रहेको बताएका हुन्।
उनले लामो संक्रमणकालबाट गुज्रिरहेको र दुई ठूला छिमेकी भारत तथा चीनको बीचमा रहेको नेपालले अब कुनै द्विविधामा नरही दुवै देशसँगको सम्बन्धबाट अधिकतम लाभ लिने गरी अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
भट्टराईले विगतमा भारत र चीनबीचको दूरीमा खेलेर क्षणिक सत्तास्वार्थ पूरा गर्न खोज्दा नेपाल अल्पविकास र परनिर्भरताको दुष्चक्रमा फसेको टिप्पणी गरेका छन्। उनले विगतका शासकहरूको त्यस्तो ‘अल्पदृष्टि’बाट पाठ सिक्नुपर्ने बताएका छन्।
भारत–चीन द्विपक्षीय वार्ताका क्रममा चिनियाँ राष्ट्रपतिले प्रयोग गरेको ‘रणनीतिक दृष्टिकोणबाट द्विपक्षीय सम्बन्धको दीर्घकालीन विकासलाई ध्यानमा राख्दै’ भन्ने अभिव्यक्ति र भारतको अगुवाइमा सर्वसम्मत रूपमा पारित लामो प्रस्तावको बहुआयामिक दिशालाई नेपालले गम्भीरतापूर्वक बुझ्नुपर्ने भट्टराईको भनाइ छ।
उनका अनुसार अबको युगमा उच्च तथा दिगो आर्थिक समृद्धि र चातुर्यपूर्ण ‘सफ्ट पावर’ हासिल नगरी नेपालजस्ता सापेक्ष रूपमा साना तथा कमजोर देशले विश्वमा सम्मानजनक उपस्थिति कायम गर्न कठिन हुनेछ।
भट्टराईले आगामी दिनमा भारत र चीनबीच सम्भावित बढ्दो ‘प्रतिस्पर्धात्मक सहकार्य’बाट नेपालले लाभ लिनुपर्ने बताएका छन्। त्यसका लागि कुशल कूटनीतिक प्रयासमार्फत नेपाललाई दुई छिमेकीबीच ‘गतिशील सेतु’ बनाउने र अन्ततः ‘शान्ति राष्ट्र’मा रूपान्तरण गर्ने योजनाबद्ध सुरुवात अहिलेबाटै गर्नुपर्ने उनको सुझाव छ।
‘दुई हात्ती लड्दा पनि मिल्दा पनि घाँसकै नाश’ हुने नेपाली उखान उल्लेख गर्दै उनले नेपालले त्यस्तो अवस्थाको दुष्परिणाम भोग्न नपरोस् भनेर नेतृत्वले समयमै ध्यान दिनुपर्ने बताएका छन्।









