काठमाडौं । गृहमन्त्री सुधन गुरुङले भदौ २७ लाई नेपालको राजनीतिक इतिहासमा आफूले कहिल्यै नबिर्सने ऐतिहासिक दिनका रूपमा स्मरण गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गुरुङले भदौ २३ पछिको अवस्था सामान्य राजनीतिक परिस्थितिभन्दा निकै फरक र चुनौतीपूर्ण रहेको बताएका छन्। राजनीतिक नेतृत्वप्रतिको विश्वास भत्किएको, पुरानो नेतृत्व स्वीकार्य नरहेको र नयाँ नेतृत्व चयन गर्ने स्पष्ट बाटोसमेत नभएको अवस्थामा देश राजनीतिक अन्योल र शक्ति रिक्तताको अवस्थामा पुगेको उनको भनाइ छ।
‘देश कता जान्छ, अब कसले निकास दिन्छ र प्रधानमन्त्री को बन्दा सुरक्षित महसुस होला?’ भन्ने प्रश्नमा देश तीन दिनसम्म अडिएको गुरुङले उल्लेख गरेका छन्। लामो समयसम्म शक्ति रिक्तता रहनु देशका लागि उचित नहुने भन्दै उनले एक नागरिकका रूपमा आफ्नो प्राथमिकता देशले निकास पाउनुपर्ने र राज्य सञ्चालन हुनुपर्ने रहेको बताएका छन्।
भदौ २७ मा देशलाई निकास दिने क्रममा आफू पनि जिम्मेवारीमा आएको उल्लेख गर्दै गुरुङले राष्ट्रपति कार्यालय पुग्दाको अवस्थासमेत स्मरण गरेका छन्। उनका अनुसार त्यतिबेला शरीरमा रगतले लतपतिएको ज्याकेट थियो भने एक थोपा पानी र अन्नसमेत मुखमा परेको थिएन। नौ घण्टाको प्रतीक्षाका क्रममा अन्योलता भए पनि देशलाई खाली हात फर्काउन नहुने अडानमा आफू रहेको उनले बताएका छन्।
‘बाहिर सिंगो देश पर्खिरहेको’ उल्लेख गर्दै गुरुङले अन्ततः नेपालले पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीलाई पाएको बताएका छन्। कार्की प्रधानमन्त्री बनेपछि आफूले ठूलो जिम्मेवारीको भारी विसाएर हलुका भएको र देशले निकास पाएको अनुभूति गरेको उनको भनाइ छ।
गुरुङले उक्त परिस्थिति हजारौँ युवाको आवाज, नागरिकको अपेक्षा, विभिन्न व्यक्तिको प्रयास र देशलाई निकास दिनुपर्छ भन्ने साझा चेतनाबाट बनेको बताएका छन्। आफ्नो भागमा आएको जिम्मेवारी आफूले सकेसम्म निर्वाह गरेको दाबी गर्दै उनले भदौ २७ सम्झिँदा कठिन परिस्थितिमा देशले आफूलाई विश्वास गरेको क्षणप्रति कृतज्ञता व्यक्त गरेका छन्।









