२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

लामो सैद्धान्तिक बहसभन्दा निर्णयउन्मुख बहस आवश्यकः प्रधानन्यायाधीश शर्मा



अ+ अ-

काठमाडौँ। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले अदालतमा हुने बहसलाई लामो सैद्धान्तिक व्याख्याभन्दा स्पष्ट, संक्षिप्त र निर्णयउन्मुख बनाउन कानून व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

शनिवार उच्च अदालत बार एशोसिएशन पाटनको वार्षिक साधारणसभा तथा पदभार हस्तान्तरण कार्यक्रममा बोल्दै शर्माले बुँदागत र सुसंगठित प्रश्तुतिले न्यायाधीशलाई उचित फैसला गर्न सहयोग पुग्ने बताउनुभएको हो ।

उहाँले मुद्दाको पेसीमा हुने छलफल सामान्यतः एकालापका रूपमा अघि बढ्ने गरेको भन्दै त्यसलाई बार र बेञ्चबीचको अन्तरक्रियात्मक संवादमा रूपान्तरण गर्नुपर्ने बताउनु भयो ।

उहाँकाअनुसार कानुनी व्यवस्था र न्यायिक सिद्धान्तको जटिल विवेचना आवश्यक भएपनि बहसको उद्देश्य अन्ततः मुद्दामा निश्चित र विशिष्ट निर्णयाधार प्रस्तुत गर्नु हुनुपर्छ । आफ्नो पक्षमा फैसला हुनुपर्ने आधार कानून व्यवसायीले स्पष्ट र बुँदागत रूपमा प्रस्तुत गरे छिटोछरितो न्याय सम्पादनमा सहयोग पुग्ने उहाँले बताउनु भयो । शर्माले कानूनको अनभिज्ञता क्षम्य नहुने सामान्य सिद्धान्त भएपनि सयौँ ऐन, नियमावली, विनियमावली तथा वर्षौँदेखि प्रतिपादित नजिर र न्यायिक सिद्धान्त सबैलाई एकैपटक जान्न वा तत्काल स्मरण गर्न व्यावहारिक रूपमा कठिन हुने बताउनु भयो । त्यसैले बार र बेञ्च दुवै यस विषयमा चनाखो हुनुपर्ने उहाँको भनाइ छ । प्रधानन्यायाधीश शर्माले मुद्दाका पक्षले विवादसँग सम्बन्धित सम्पूर्ण तथ्य र आधार शुरुमै अदालतसमक्ष स्पष्ट रूपमा प्रश्तुत गर्नुपर्ने बताउनु भयो ।

मुद्दा सुनुवाइका क्रममा अदालतमा पहिले प्रश्तुत नगरिएका नयाँ–नयाँ आधार ल्याउँदा अर्को पक्षले त्यसको खण्डन गर्ने पर्याप्त अवसर नपाउने उनको भनाइ छ । यस्तो अभ्यासले सुनुवाइलाई ‘ट्रायल बाइ एम्बुस’को अवस्थामा पु¥याउने उहाँले बताउनु भयो । मुद्दासँग सम्बन्धित प्रमाण र कागजात पटक–पटक वा खण्ड–खण्डमा माग गर्ने अभ्यासले समेत सुनुवाइ व्यवस्थापन प्रभावित हुने र छिटोछरितो न्याय सम्पादनमा प्रतिकूल असर पर्ने उहाँले बताउनु भयो । न्यायिक प्रक्रियामा प्रवेश गरिसकेपछि विवादसँग सम्बन्धित यथार्थ अदालतसमक्ष प्रश्तुत गर्न ढिलाइ गर्न नहुने शर्माको भनाइ छ । शर्माले न्यायपालिकाप्रतिको जनविश्वास कायम राख्ने जिम्मेवारी न्यायाधीशसँगै कानून व्यवसायीको पनि रहेको बताउनु भयो ।

शर्माले भन्नुभयो, ‘न्याय पाउनु जनताको आधारभूत अधिकार हो । स्वतन्त्र न्यायपालिका, विधिको शासन, शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलन सभ्य समाजका आधारशिला हुन् । न्यायपालिकाले आफ्नो संवैधानिक जिम्मेवारी पूरा गर्न न्यायाधीश, कर्मचारी र कानून व्यवसायीबीचको सहकार्य आवश्यक हुन्छ । बार र बेञ्चबीच कुनै विषयमा फरक बुझाइ भए आपसी संवादबाट समाधान गर्नुपर्छ । अदालतको कामकारबाहीप्रति स्वच्छ आलोचना र रचनात्मक टिप्पणीलाई प्रोत्साहन गर्नुपर्छ । तर निहित स्वार्थका लागि मनगढन्ते आधारमा गरिने आलोचनाले न्याय क्षेत्रको मर्यादा र जनविश्वासमा असर पार्न सक्छ। यसतर्फ सबै सचेत हुनुपर्छ । न्यायपालिकालाई पारदर्शी, चुस्त र सेवाग्राहीमैत्री बनाउन विभिन्न सुधारका काम अघि बढाइएको छ । मुद्दामा भएका आदेश सोही दिन वेबसाइटमा अपलोड गर्ने कार्य सुरु गरिएको छ । अब एक अदालतबाट भएको आदेश वा फैसला अर्को अदालतबाटै प्रमाणित गरी प्राप्त गर्न सकिने व्यवस्था गर्न नियमावली संशोधनको प्रक्रिया अघि बढाइएको छ । सर्वोच्च अदालतका हस्ताक्षरित फैसलाहरू स्क्यान गरी वेबसाइटमा अपलोड गर्न थालिएको छ । नियमावली संशोधनपछि जिल्ला अदालतलगायतका फैसला पनि आवश्यक प्रक्रियाबाट अन्य अदालतबाट प्राप्त गर्न सकिने व्यवस्था हुनेछ । त्यसैगरी, सुनुवाइको लाइभ स्ट्रिमिङका लागि पूर्वाधार र निर्देशिका तयार गरिएको छ । उपयुक्त मुद्दाबाट क्रमशः यसको शुरुवात गरिनेछ । अदालती शुल्क अनलाइनमार्फत भुक्तानी गर्न सकिने व्यवस्था पनि शुरु गरिएको छ । फैसला लेखनलाई यस वर्ष विशेष प्राथमिकतामा राखिएको छ । पुराना बाँकी फैसलाहरू पहिचान गरी पुस मसान्तसम्म सकेसम्म टुंग्याउने र त्यसपछि कानुनले तोकेको समयभित्र फैसला तयार गरी हस्ताक्षरित प्रति वेबसाइटमा अपलोड गर्ने लक्ष्य राखिएको छ । यी सुधारका प्रयासले न्यायमा सहज पहुँच बढाउनुका साथै अदालतप्रतिको जनआस्था र विश्वास अभिवृद्धि गर्ने विश्वास लिएको छु ।’

 कानून व्यवसायी सामाजिक अभियन्ताको भूमिकामा समेत रहने उल्लेख गर्दै उनले समग्र न्यायिक प्रक्रिया र न्याय प्रणालीमा रहेका समस्या तथा चुनौती समाधान गरी समृद्ध न्याय व्यवस्था निर्माण गर्नु बार र बेञ्च दुवैको साझा दायित्व भएको बताउनु भयो ।

उहाँले न्यायिक प्रक्रिया पारदर्शी र स्वच्छ हुनुपर्नेमा जोड दिँदै स्वच्छ सुनुवाइको दायित्व अदालतको मात्र नभई मुद्दाका पक्ष र कानुन व्यवसायीको समेत भएको स्पष्ट पार्नुभयो ।

न्यायमा पहुँचको अवधारणालाई व्यवहारमा मूर्त रूप दिन कानून व्यवसायीले आफ्नो बहसलाई व्यवस्थित, सारगर्भित र निर्णयउन्मुख बनाउनुपर्नेमा प्रधानन्यायाधीश शर्माले जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल