काठमाडौँ। नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकमा लोकतान्त्रिक व्यवस्था निर्माणमा महत्वपूर्ण भूमिका खेलेका सबै राजनीतिक दलहरूको आन्तरिक एकता कमजोर बन्दै गएको बताउनुभएको छ ।
बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । संविधान निर्माणमा महत्वपूर्ण योगदान दिएका राजनीतिक दलहरूको आन्तरिक जीवन र संगठनको मूलयाङ्कन गर्दा एकता कमजोर भएको देखिएको उहाँको भनाइ छ ।
उहाँले मुलुकको समृद्धि र मुलुकको स्वाधीनताको रक्षाका लागि दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकता रहेको पनि बताउनु भयो । उहाँले गत वर्षको जेनजी आन्दोलनदेखि पार्टीले श्रृंखलावद्ध प्रहारको सामना गर्नुपरको समेत बताउनु भयो । उहाँले पार्टी र नेतृत्व थोरै निष्क्रिय भएको मौका छोपेर एउटा पक्षले विशशेष महाधिवेशनको नाममा पार्टी कब्जा गरेको आरोप पनि लगाउनु भयो ।
उहाँले भन्नुभयो, ‘आजको दिनमा सबै राजनीतिक दलहरुको आन्तरिक एकता अत्यन्त कमजोर भएर गएको छ । जसले मुलुकमा यो परिवर्तन ल्याए, जसले यो संविधान निर्माणमा महत्वपूर्ण योगदान दिए ती सबै राजनीतिक दलहरुको आन्तरिक जीवन र संगठनको मूल्याङ्कन गर्ने हो भने सबै राजनीतिक दलहरुको आन्तरिक एकता अत्यन्त कमजोर भएको छ । त्यसबैले सबै राजीतिक दलहरुको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकता हो । गत भदौको २३ र २४ गते भएको घटना, उक्त दिन हाम्रो सभापतिमाथि भएको आक्रमण र देश जलेको अवस्थाबाट सिर्जना भएको समस्या विशेष महाधिवेशन गरेर एउटा पक्षले हाम्रो पार्टी कब्जा गरेको छ । र आज हामी यहाँ छौँ र १५ औँ महाधिवेशन आयोजना गर्ने तयारमिा अघि बढिरहेका छौँ । नेपाली काँग्रेस, विशेष गरेर हामीहरुमाथि जसले इतिहासमा लामो संघर्षबाट आएहरुको काँधमा एउटा ठूलो जिम्मेवारी छ पार्टीमा सम्पूर्ण तवरबाट एकता निर्माण गर्ने ।’
उहाँले पार्टीलाई सम्पूर्ण रुपमा एकतावद्ध बनाउने जिम्मेवारी पनि आफूहरुकै काँधमा रहेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल








