काठमाडाैँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परेर ज्यान गुमाएका व्यक्तिको शव व्यवस्थापनअन्तर्गत नुवाकोटमा जमिनको सतहमा रहेका शव खोजी तथा सङ्कलनको प्रारम्भिक चरण पूरा भएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार हालसम्म १७७ जनाको शव फेला पारिएको छ । तीमध्ये १६ जनाको पहिचान भएपछि सम्बन्धित परिवारलाई बुझाइएको छ भने पहिचान हुन बाँकी शव परीक्षणका लागि काठमाडौँस्थित शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।
प्रहरी उपरीक्षक रेग्मीका अनुसार नेपाली सेनाको हेलिकप्टर, नेपाल प्रहरीको ड्रोन क्यामेरा तथा तालिम प्राप्त कुकुर परिचालन गरी जिल्लाका विभिन्न ३० स्थानलाई आधार क्षेत्र बनाएर जमिनको सतहमा रहेका शव खोजी तथा सङ्कलन गरिएको हो ।
“जमिनको सतह तथा घरभित्र देखिने अवस्थाका शव सङ्कलन गर्ने पहिलो चरणको काम पूरा भएको छ,” रेग्मीले भन्नुभयो, “कहीँकतै शव देखिएमा तत्काल प्रहरीलाई खबर गर्न अनुरोध गरेका छौँ ।”
प्रहरीले अब बाढी तथा लेदोमा पुरिएका शवको उत्खनन र खानतलासीमार्फत खोजी सुरु गर्ने जनाएको छ । संयुक्त सुरक्षा फौजमार्फत भइरहेको शव व्यवस्थापनमा नेपाल प्रहरीलाई जमिनमा सशस्त्र प्रहरी बलले सहयोग गरिरहेको छ भने सङ्कलन गरिएका शव हवाईमार्फत काठमाडौँ ल्याउन नेपाली सेनाले हेलिकप्टर उपलब्ध गराउँदै आएको छ ।
यसैबीच, सोमबार बेत्रावतीस्थित बच्चु अवस्थीको घर परिसरबाट एकै स्थानमा २१ जनाको शव फेला परेको थियो । सार्वजनिक सवारीसाधन रोकेर सुरक्षित स्थान ठानेर आश्रय लिएका व्यक्तिहरू बाढीमा परी त्यहाँ पुरिएको हुनसक्ने जनाइएको छ । उक्त स्थानबाट सङ्कलन गरिएका अधिकांश शवको बेत्रावतीमै पहिचान हुन नसकेपछि परीक्षणका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
बाढीबाट प्रभावित बेत्रावती, सोलेबजार, तुप्चे, त्रिशूली बजार, ढुङ्गे र देवीघाट क्षेत्रमा घर तथा सडकमा थुप्रिएको गेग्रान र लेदो हटाउने कामसँगै पुरिएका स्थानमा शव खोजी सुरु गरिएको छ ।
यसअघि जिल्लाका विभिन्न ३० स्थानमा परिचालन गरिएको शव सङ्कलन टोली अहिले मुख्य प्रभावित बस्ती तथा क्षेत्रमा केन्द्रित भएको प्रहरीले जनाएको छ ।









