१२ भाद्र २०८३, शुक्रबार
,
Latest
पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच टेलिफोन वार्ता रसुवा बाढीपीडितलाई बैतडीका चार स्थानीय तहले नौ लाख सहयोग गर्ने रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढीः १०२ शवको डीएनए परीक्षण र पहिचान प्रक्रिया पोखरामा शुरु



अ+ अ-

पोखरा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका तथा विभिन्न जिल्लाका नदी तटीय क्षेत्रमा फेला परेका १०२ वटा शव पहिचान, डीएनए नमुना सङ्कलन र पोस्टमार्टमका लागि कास्कीको पोखरा ल्याइएको छ ।

धादिङ, गोरखा, तनहुँ र पूर्वी नवलपरासी लगायतका जिल्लामा फेला परेका शव परीक्षण तथा व्यवस्थापनका लागि आवश्यक पूर्वाधार र सुविधा पर्याप्त नभएपछि कास्की जिल्ला प्रशासन कार्यालयको समन्वयमा पोखरा ल्याइएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बिहीबार राति मात्रै पूर्वी नवलपरासीबाट ४१, धादिङबाट २७, तनहुँबाट २३ र गोरखाबाट ११ वटा शव पोखरा ल्याइएको हो ।

एकैपटक ठूलो सङ्ख्यामा शव ल्याइएपछि पोखराका स्वास्थ्य संस्थामा शव व्यवस्थापनको चाप बढेको छ । हाल अधिकांश शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । तनहुँमा फेला परेका नौ वटा शवलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रारम्भिक परीक्षण गरी थप व्यवस्थापनका लागि मणिपाल शिक्षण अस्पताल पठाइएको प्रशासनले जनाएको छ ।

पोखराका सरकारी तथा निजी अस्पतालमा गरी करिब ८८ वटा शव राख्न सकिने क्षमता रहेकामा ठूलो सङ्ख्यामा शव ल्याइएपछि शवगृहहरू लगभग पूर्णरूपमा भरिएका छन् ।

स्थानीय प्रशासनका अनुसार बाढीमा परेका अधिकांश शव क्षतविक्षत अवस्थामा फेला परेकाले पहिचान गर्न चुनौती भएको छ । कास्की प्रहरी र जिल्ला प्रशासन कार्यालयको टोलीले शवको वैज्ञानिक परीक्षण तथा पहिचानलाई प्राथमिकतामा राखेर काम गरिरहेको कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले बताउनुभयो ।

उहाँका अनुसार प्रत्येक शवको तस्बिरसहित आवश्यक विवरण अभिलेख राख्नुका साथै पहिचानका लागि डीएनए परीक्षण गर्न नमुना सङ्कलन गर्ने कामलाई तीव्रता दिइएको छ ।

परीक्षण प्रक्रिया पूरा भएपछि पहिचान हुन नसकेका शवको हुलिया र विस्तृत विवरणसहित सार्वजनिक सूचना जारी गरिने प्रशासनले जनाएको छ ।

बाढीपछि आफन्त हराइरहेका परिवारलाई पोखराका सम्बन्धित अस्पताल तथा प्रशासनसँग सम्पर्क गरी शव पहिचानमा सहयोग गर्न आग्रह गरिएको छ । पहिचान हुन नसकेका शवलाई प्रचलित कानुनी प्रक्रिया तथा मापदण्ड पूरा गरी अन्तिम संस्कार गरिने प्रशासनले जनाएको छ ।