जाजरकोट: गत साउन २९ र ३० गते गएको पहिरोबाट प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर निर्माण गरिने भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्राविधिक टोलीले स्थलगत अध्ययन गरेपछि प्रभावितका लागि रिसाङ विद्यालय नजिक, विद्यालयभन्दा माथिल्लो क्षेत्र र कल्याणपुरमा अस्थायी सेल्टर निर्माण गर्ने निर्णय गरेको हो।
पहिरोबाट पूर्ण रूपमा क्षति भएका १५ घरपरिवार, २७ जना गर्भवती तथा सुत्केरी महिला र अन्य आठ प्रभावित परिवारलाई अस्थायी सेल्टरका लागि आइएनएफ नेपालले आवश्यक सामग्री उपलब्ध गराएको छ। उनीहरूलाई खाद्यान्न तथा सरसफाइका सामग्री वितरण गरिएको छ ।
यो पनि पढ्नुहोस्
जाजरकोट पहिरो: ७ जना घाइते, २ जना सम्पर्कविहीन
यसैगरी, थप २२ परिवारलाई पनि खाद्यान्न तथा सरसफाइका सामग्रीसहित राहत उपलब्ध गराइएको छ। उक्त राहत सामग्री सहयोग गरेको हो।
राहत सामग्री वितरण कार्यक्रममा भेरी नगरपालिकाकी उपप्रमुख सीता जैसी, सम्बन्धित वडाका अध्यक्ष, विपद् शाखा प्रमुख यज्ञ गौतम, वडा सदस्यलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रभावित परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको थियो।
पहिरो प्रभावित क्षेत्रमा तत्कालीन आवश्यकता पूरा गर्न तथा प्रभावित परिवारलाई सुरक्षित स्थानमा राख्न अस्थायी सेल्टर निर्माणको प्रक्रिया अघि बढाइएको जनाइएको छ।






