काठमाडौं । नेपाल लेयर्स कुखुरापालक सङ्घले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० लाख सहयोग गरेको छ । रसुवा बाढी प्रभावितको राहतका लागि सङ्घले कोषमा सहयोग गरेको हो ।
सङ्घका अध्यक्ष विनोद पोखरेलले रसुवा बाढीपछि राहत र उद्धारका लागि सरकारले आर्थिक सहयोगको आह्वान गरेपछि सङ्घले आज रु १० लाख सहयोग गरेको बताउनुभयो ।
रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखा लगायतका जिल्लामा भएको मानवीय र भौतिक क्षतिप्रति अध्यक्ष पोखरेलले दुःख व्यक्त गर्नुभयो ।
सङ्घले यसअघि भूकम्प र कोभिडलगायतका प्राकृतिक विपत्तिमा पनि सहयोग गर्दै आएको जानकारी दिदै अध्यक्ष पोखरेलले राष्ट्रमा परेको विपत्तिमा थोरै भए पनि सङ्घले सहयोग गरेको बताउनुभयो ।









