काठमाडौं । सरकारले सञ्चालन गरिरहेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने भएको छ।
नेपाल राष्ट्र बैंकले बुधबार आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा व्यवस्थापनका लागि सहयोग गर्न चाहनेलाई सहज हुने गरी यस्तो व्यवस्था गरेको हो।
राष्ट्र बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न चाहनेका लागि विद्युतीय माध्यमबाट रकम हस्तान्तरण गर्दा लाग्ने कारोबार सीमा लागू नहुने व्यवस्था गरेको हो। यससम्बन्धी व्यवस्था कार्यान्वयन गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सर्कुलर जारी गरेको छ।
हाल मोबाइल बैंकिङबाट दैनिक अधिकतम ३ लाख रुपैयाँ तथा इन्टरनेट बैंकिङबाट दैनिक २० लाख रुपैयाँसम्म मात्र भुक्तानी गर्न सकिने व्यवस्था छ। तर, विपद् प्रभावित नागरिकको उद्धार तथा राहतका लागि स्थापना गरिएका उक्त सरकारी कोषमा रकम जम्मा गर्दा भने सो कारोबार सीमा लागू नहुने भएको हो।
राष्ट्र बैंकको यो व्यवस्थाले बाढी प्रभावित नागरिकका लागि राहत तथा उद्धारमा आर्थिक सहयोग गर्न चाहने व्यक्ति तथा संस्थालाई ठूलो रकम सहज रूपमा सरकारी कोषमा पठाउन सक्ने वातावरण बनेको छ।









