११ भाद्र २०८३, बिहीबार
,
Latest
एमाले मधेस प्रदेशका सांसदले एक दिनको तलब बाढीपीडितलाई दिने उपराष्ट्रपति यादवद्वारा भोटेकोशी बाढीको विपत्तिमा एकजुट हुन आग्रह विपद व्यवस्थापन तथा मानवीय सहयोगको काममा एकजुट हुन कार्यवाहक प्रमुख डंगोलको अपिल विपद् प्रभावित क्षेत्रमा पशुपन्छी उद्धारका लागि प्राविधिक टोली परिचालन भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो रसुवा बाढीपीडितको उद्धार र सहयोगका लागि साउदीसँग मन्त्री यादवको अपिल संयुक्त अरब इमिरेट्सद्वारा बाढीपहिरोप्रति व्यक्त पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग बाढी प्रभावित नुवाकोटको विदुर पुगे प्रधानमन्त्री शाह, क्षतिको स्थलगत निरीक्षण बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता



अ+ अ-

काठमाडौं ।  भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा ठूलो क्षति भएपछि वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर प्रभावित क्षेत्रमा स्थलगत रूपमा खटिनुभएको छ।

उद्धार, राहत तथा तत्कालीन व्यवस्थापनलाई प्रभावकारी बनाउन मुख्यमन्त्री थापा हिजैदेखि प्रभावित क्षेत्रमा पुगेर स्थलगत अनुगमन तथा समन्वयमा जुट्नुभएको हो। उहाँ आज नुवाकोट हुँदै रसुवातर्फ प्रस्थान गर्नुभएको छ।

प्रदेश सरकारले प्रभावित क्षेत्रमा औषधिसहितको चिकित्सक टोली यसअघि नै परिचालन गरिसकेको छ। मुख्यमन्त्रीसहित विभागीय मन्त्री तथा प्रदेश सरकारका विभिन्न संयन्त्र प्रत्यक्ष रूपमा उद्धार र राहतमा परिचालित छन्।

धादिङको गल्छी हुँदै सडक अवरोध हटाएर नुवाकोट पुग्नुभएका मुख्यमन्त्री थापाले बाढीपीडित स्थानीयसँग प्रत्यक्ष भेट गरी उनीहरूको अवस्था र समस्याबारे जानकारी लिनुभएको थियो। कतिपय नागरिकले आफूहरू अलपत्र परेको र खानासमेत नपाएको गुनासो गरेपछि रसुवा र नुवाकोटमा अलपत्र नागरिकलाई सुरक्षित रूपमा आफ्नो जिल्लासम्म पुर्‍याउने व्यवस्था सुरु गरिएको उहाँले बताउनुभयो।

प्रदेश सरकारले हालसम्म चार स्थानमा सेल्टर निर्माण गरेको र त्यहाँ आश्रय लिएका तथा समस्यामा परेका नागरिकका लागि खानाको व्यवस्था गरिएको मुख्यमन्त्री थापाले जानकारी दिनुभयो।

उहाँका अनुसार धादिङको गल्छीदेखि नुवाकोटसम्मको सडक सञ्चालनमा ल्याइएको छ। नुवाकोटबाट रसुवा जाने सडकका अवरोध हटाउँदै उद्धार टोली अगाडि बढिरहेको छ।

बाढीका कारण विद्युत् लाइनमा ठूलो क्षति पुगेपछि नुवाकोट र रसुवाका अस्पतालमा हेलिकप्टरमार्फत इन्धन पुर्‍याएर जेनेरेटर सञ्चालन गरी स्वास्थ्य सेवा निरन्तरता दिइएको मुख्यमन्त्री थापाले बताउनुभयो। टेलिफोन टावरमा समेत जेनेरेटर राखेर सञ्चार सेवा सञ्चालनमा ल्याउने विषयमा नेपाल टेलिकमसँग समन्वय भइरहेको उहाँको भनाइ छ।

मुख्यमन्त्री थापाले आफू स्वयं, विभागीय मन्त्रीहरू तथा सम्पूर्ण प्रदेश संयन्त्र प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा परिचालित रहेको बताउँदै उद्धार, खोजी, राहत र तत्कालीन व्यवस्थापनमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

रसुवामा आफन्त अलपत्र परेका वा सम्पर्कविहीन भएका नागरिकलाई आवश्यक सूचना उपलब्ध गराउन सम्बन्धित प्रदेश संयन्त्रसँग तत्काल सम्पर्क गर्न उहाँले आग्रह गर्नुभएको छ। त्यसका लागि मुख्यमन्त्री थापाले आफ्नो मोबाइल नम्बर ९८५१०८१८७६ सार्वजनिक गर्नुभएको छ।

बाढीपीडित नागरिकलाई सरकार साथमा रहेको अनुभूति दिलाउँदै मुख्यमन्त्री थापाले संकटको अन्तिम क्षणसम्म राज्य जनताको साथमा रहने बताउनुभयो। “पीडितको पीडा हाम्रो पनि पीडा हो,” भन्दै उहाँले पीडितका आँसुमा सरकारको संवेदना रहेको र नागरिकको सुरक्षाका लागि राज्यका सबै संयन्त्र निरन्तर परिचालित रहेको बताउनुभयो।

उहाँले सरकार आश्वासन दिन मात्र नभई उद्धारदेखि पुनःस्थापनासम्म जनताको साथमा उभिन प्रभावित क्षेत्रमा आएको स्पष्ट पार्नुभयो। सम्भावित जोखिममा रहेका सबै नागरिकको सुरक्षित उद्धारका लागि निरन्तर प्रयास भइरहेको बताउँदै अलपत्र परेका नागरिकलाई आफू बसेको स्थानमा धुवाँ उड्ने गरी आगो बालेर उद्धार टोलीलाई सङ्केत दिनसमेत आग्रह गर्नुभएको छ।