काठमाडौं । नेपाली कांग्रेसले रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारसँग आग्रह गरेको छ।
बुधबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै वेपत्ताको खोजी, जोखिममा रहेका नागरिक तथा विदेशी पर्यटकको शीघ्र उद्धार र स्थानान्तरण तथा घाइतेको प्रभावकारी उपचारमा कुनै कसर बाँकी नराख्न सरकारलाई आग्रह गरेको हो।
सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बसेको बैठकले विपद्को समयमा सरकार, राजनीतिक दल, संघसंस्था, निजी क्षेत्र र नागरिक समुदायको साझा प्राथमिकता उद्धार तथा राहत हुनुपर्ने जनाएको छ। कांग्रेसले विपद् व्यवस्थापनका लागि सरकारका हरेक प्रयासमा आफ्नो पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता पनि जनाएको छ।
बैठकले पार्टीका नेता तथा कार्यकर्तालाई भ्रामक सूचना, मिथ्या र अफवाहको पछि नलाग्न तथा आरोप–प्रत्यारोपमा नउत्री उद्धार, राहत र व्यवस्थापन कार्यमा केन्द्रित हुन आग्रह गरेको छ।
कांग्रेसले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत प्रभावित जिल्लाका पार्टी नेतृत्व तथा सदस्यहरूलाई स्थानीय विपद् व्यवस्थापन संयन्त्रसँग समन्वय गरी उद्धार र राहतमा सक्रिय रूपमा जुट्न निर्देशन दिएको छ। प्रभावित क्षेत्रभन्दा बाहिर रहेका पार्टीका नेता तथा कार्यकर्तालाई पनि आ–आफ्नो स्थानबाट सहयोग गर्न अपिल गरिएको छ।
विपद्का कारण कांग्रेसले भदौ ११ गतेका लागि तय गरेको महिला उद्यमशीलता सम्मेलन, ग्रिन टेबललगायत पूर्वनिर्धारित कार्यक्रम तथा केन्द्रीय कार्यालयमा हुने छलफलका कार्यक्रम एक साताका लागि स्थगित गरेको छ।
त्यस्तै, पार्टीका पदाधिकारी तथा प्रभावित भूगोलका केन्द्रीय सदस्यहरू अन्य कार्यक्रममा सहभागी नभई बाढीबाट उत्पन्न संकटमा उद्धार, राहत र पुनःस्थापना कार्यमा केन्द्रित रहने निर्णय बैठकले गरेको छ।
विपद् व्यवस्थापन समन्वय समिति गठन
कांग्रेसले बाढी प्रभावित जिल्लामा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन केन्द्रीय सदस्य एवं रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यको संयोजकत्वमा ‘रसुवा बाढी विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समिति’ गठन गरेको छ।
समितिमा रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपुरबाट केन्द्रीय कार्यसमितिमा रहेका सदस्य, प्रतिनिधिसभा सदस्य, बागमती प्रदेश कार्यसमितिका सदस्य, सम्बन्धित जिल्लाका पार्टी सभापति, प्रदेशसभा सदस्य तथा कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख–उपप्रमुखलगायत भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि रहनेछन्।
समितिको सदस्य–सचिवमा पार्टीको विपद् व्यवस्थापन उपसमितिका संयोजक मानबहादुर थापा रहनेछन्। समितिअन्तर्गत कांग्रेस केन्द्रीय कार्यालयमा सूचना तथा समन्वय डेस्कसमेत स्थापना गरिनेछ।
कांग्रेसले पार्टीको तर्फबाट हुने सबै प्रकारका सहयोग समितिको समन्वयमा सञ्चालन गर्ने जनाएको छ। बैठकले बाढीपीडितका लागि पार्टीको तर्फबाट एकमुष्ट रकम राहत कोषमा जम्मा गर्ने निर्णयसमेत गरेको छ।









