१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित



अ+ अ-

काठमाडौं । भोटेकोशी नदीमा बुधबार आएको आकस्मिक भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएकोप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले दुःख व्यक्त गरेको छ।

इप्पानका अनुसार बाढीले मानव बस्ती, जलविद्युत आयोजना, सडक, पुल तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ। बाढीमा बेपत्ता तथा प्रभावित सर्वसाधारण, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र विद्युत आयोजनामा कार्यरत कामदारहरूको उद्धार जारी रहेको भन्दै इप्पानले उद्धार तथा राहतमा खटिएका सरकार, सुरक्षा निकाय, स्थानीय तह, सामाजिक संघसंस्था तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गरेको छ।

इप्पानले प्राप्त प्रारम्भिक विवरणअनुसार त्रिशूली तथा भोटेकोशी नदी बेसिनमा सञ्चालनमा रहेका तथा निर्माणाधीन दर्जनौँ जलविद्युत आयोजनामा क्षति पुगेको जनाएको छ। नदी किनार तथा बाढी प्रभावित क्षेत्रमा रहेका आयोजनाका बाँध, हेडवर्क्स, पावर हाउस, पहुँचमार्ग, प्रसारण संरचना, निर्माण सामग्रीलगायतका भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरण छ।

रसुवामा सञ्चालनमा रहेका करिब २३६ मेगावाट क्षमताका पाँच जलविद्युत आयोजना तथा निर्माणाधीन करिब ३४२.४२ मेगावाट क्षमताका तीन आयोजना प्रभावित भएको इप्पानले जनाएको छ। त्यस्तै, नुवाकोटमा सञ्चालनमा रहेका करिब १२३ मेगावाट क्षमताका चार आयोजना र निर्माणाधीन करिब ५२.६ मेगावाट क्षमताका दुई आयोजनामा समेत क्षति पुगेको प्रारम्भिक विवरण छ।

विशेषगरी माथिल्लो त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा पुगेको क्षतिका कारण भौतिक संरचनामा प्रत्यक्ष ठूलो क्षति नपुगेका कतिपय जलविद्युत आयोजना समेत राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद हुन पुगेका छन्।

इप्पानले बाढी प्रभावित क्षेत्रमा फसेका विद्युत आयोजनाका कामदार, कर्मचारी तथा प्राविधिकको तत्काल खोजी, उद्धार र सुरक्षित स्थानमा स्थानान्तरणलाई पहिलो प्राथमिकता दिन सरकार तथा सुरक्षा निकायसँग आग्रह गरेको छ। साथै प्रभावित आयोजनाका प्रवर्द्धक कम्पनी तथा निजी क्षेत्रका ऊर्जा उद्यमीलाई आफ्ना स्रोत, जनशक्ति, उपकरण तथा साधनसहित उद्धार र राहतमा सक्रिय हुन अनुरोध गरेको छ।

इप्पानले निजी क्षेत्रका छाता संगठन, संघसंस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, निर्माण व्यवसायी, ऊर्जा क्षेत्रका कम्पनी तथा अन्य व्यावसायिक प्रतिष्ठानलाई समेत प्रभावित नागरिक र विद्युत आयोजनाको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग गर्न आग्रह गरेको छ।

त्यस्तै, क्षतिग्रस्त विद्युत आयोजना तथा प्रसारण संरचनाको शीघ्र क्षति मूल्यांकन, पुनर्निर्माण र विद्युत प्रणालीमा पुनः जोड्ने कार्यलाई राष्ट्रिय प्राथमिकता दिन सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभागलगायतका निकायसँग इप्पानले आग्रह गरेको छ।

क्षतिग्रस्त आयोजनाको पुनर्निर्माणका लागि आवश्यक नीतिगत सहजीकरण, वित्तीय तथा प्राविधिक सहयोग, बीमा दाबी प्रक्रियामा सहजीकरण र प्रसारण पूर्वाधारको शीघ्र पुनर्निर्माण गर्नसमेत इप्पानले माग गरेको छ।

इप्पानले बाढीबाट प्रभावित जलविद्युत आयोजनाको क्षतिको विस्तृत विवरण संकलन तथा अभिलेखीकरण गर्ने जनाएको छ। तत्कालीन उद्धारदेखि दीर्घकालीन पुनर्निर्माणसम्म सरकार, सुरक्षा निकाय, निजी क्षेत्र, स्थानीय समुदाय तथा सबै सरोकारवालाबीच प्रभावकारी समन्वय आवश्यक रहेको इप्पानको भनाइ छ।

बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै इप्पानले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै बेपत्ता नागरिक तथा कामदारको शीघ्र सकुशल उद्धार र घाइते तथा प्रभावितको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।