काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा अप्रत्यासित र आकस्मिक रूपमा आएको ठूलो बाढीका कारण अवस्था गम्भीर र चिन्ताजनक बनेको बताएका छन्।
थापाले भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय तथा आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आम नागरिकलाई आग्रह गरेका छन्।
उनले विपद्को अवस्थामा राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरी सबै तहका सरकारसँग समन्वय गरेर उद्धार तथा राहत कार्यमा केन्द्रित हुन सरकारलाई अनुरोध गरेका छन्।
विपद् व्यवस्थापनका लागि सरकारको प्रयासमा नेपाली कांग्रेसको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाउँदै थापाले पार्टीका सम्पूर्ण समिति तथा विशेषगरी रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका नेतृत्व तथा सदस्यहरूलाई उद्धार र राहत कार्यमा सक्रिय हुन अपील गरेका छन्।
उनले नदी तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा राख्न तथा उद्धार र राहत कार्यमा तत्काल जुट्न कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।









