९ भाद्र २०८३, मंगलवार
,
Latest
उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल



अ+ अ-

काठमाडौं । लगानी बैंकर तथा वित्तीय अर्थविद् मुक्ति अर्यालले नेपालमा विदेशी प्रत्यक्ष लगानी (एफडीआई) भित्र्याउन तथा आर्थिक समृद्धि हासिल गर्न पुँजी बजारको सुदृढीकरणसँगै नीतिगत सुधार अपरिहार्य रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेसले आयोजना गरेको ‘नेपालको पुँजी बजारः आर्थिक लगानीको आधार’ विषयक संवाद कार्यक्रममा बोल्दै अर्यालले पुँजी बजारलाई स्रोत परिचालन र पुँजी लगानीको भरपर्दो माध्यमका रूपमा विकास गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले व्यवसाय विस्तारका क्रममा व्यक्तिगत स्रोत, पारिवारिक ऋण र बैंक कर्जाले मात्र पर्याप्त पुँजी जुटाउन नसक्ने अवस्थामा पुँजी बजार प्रभावकारी विकल्प बन्ने उल्लेख गर्नुभयो । पुँजी बजार शेयर खरिद–बिक्रीमा मात्र सीमित नभई निजी इक्विटी, भेन्चर क्यापिटल, एन्जल इन्भेस्टर, क्राउड फन्डिङ र आईपीओलगायतका आधुनिक वित्तीय संयन्त्रसमेत समेटिएको बृहत् प्रणाली भएको उहाँको भनाइ छ ।

नेपालमा समय–समयमा आयोजना हुँदै आएका लगानी सम्मेलनबाट मात्रै विदेशी लगानी आकर्षित गर्न नसकिने उहाँले बताउनुभयो । उहाँका अनुसार नेपालमा हाल वार्षिक औसत करिब १२ अर्ब रुपैयाँ बराबरको मात्र एफडीआई भित्रिने गरेको छ ।

अन्तर्राष्ट्रिय लगानीकर्ताको दृष्टिकोण प्रस्तुत गर्दै अर्यालले नेपालको सानो बजार र कमजोर कानुनी तथा नियामकीय संरचनाका कारण विदेशी लगानीकर्ता आकर्षित हुन नसकेको बताउनुभयो ।

‘विदेशी लगानी कसैको दया, माया वा अनुरोधका भरमा आउँदैन,’ उहाँले भन्नुभयो, ‘सरकारले लगानी सम्मेलन गर्नुअघि आफ्ना कानून, नियम, विधि र प्रक्रियालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुधार गर्नुपर्छ । त्यसपछि मात्रै विदेशी लगानीकर्ता आफैँ आकर्षित हुने वातावरण बन्छ ।’

अर्यालले आफू वाल स्ट्रिटमा रहँदा चिनियाँ र भारतीय बजारमा लगानी गर्ने ठूला कम्पनीका प्रमुखहरूसँग छलफल गर्दा नेपालको कमजोर नियमन र साँघुरो बजारका कारण उनीहरूले नेपालमा लगानी गर्न चासो नदेखाएको अनुभव सुनाउनुभयो ।

उहाँले विदेशी लगानीकर्ताको आवश्यकता र अन्तर्राष्ट्रिय अभ्यासलाई बुझेर नेपालको पुँजी बजारका संयन्त्रलाई प्रभावकारी र सिर्जनशील बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार आवश्यक सुधार गर्न सके घरेलु पुँजी बजारबाटै ठूलो परिमाणमा स्रोत परिचालन गर्न सकिन्छ ।

छिमेकी मुलुक चीन र भारतबीच विदेशी लगानी आकर्षित गर्न तीव्र प्रतिस्पर्धा भइरहेको उदाहरण दिँदै अर्यालले नेपालले पनि आफ्नो लगानी वातावरणलाई चुस्त, प्रभावकारी र आकर्षक बनाउनुपर्ने बताउनुभयो ।

उहाँले विदेशी लगानी आकर्षित गर्न लगानी सम्मेलनभन्दा अघि नै कानुनी, नीतिगत र प्रक्रियागत सुधारलाई प्राथमिकता दिन सरकारलाई सुझाव दिनुभयो ।