काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको वर्तमान अर्थतन्त्रलाई गति दिन ‘रि–इञ्जिनियरिङ’ आवश्यक रहेको बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘नाडा अटो शो २०२६’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रलाई चलायमान बनाउन विद्यमान नीति र कार्यशैलीमा पुनरावलोकन आवश्यक रहेको बताएका हुन् ।
अध्यक्ष श्रेष्ठले बजारमा माग बढ्न नसक्दा उद्योगी–व्यवसायीहरू इतिहासकै कठिन अवस्थाबाट गुज्रिरहेको बताए । सरकारले आगामी ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्याउने, १ खर्ब डलरको अर्थतन्त्र निर्माण गर्ने र १२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिए पनि त्यसअनुसार ठोस रणनीति र कार्ययोजना बन्न नसकेको उनको भनाइ छ ।
बजेटमा घोषणा गरिएका कार्यक्रमसमेत प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको भन्दै श्रेष्ठले सरकारको कार्यशैलीप्रति प्रश्न उठाए । उनले लक्ष्य हासिल गर्न निजी क्षेत्रसँग सहकार्य गर्दै कार्यान्वयनमुखी नीति अघि बढाउन सरकारलाई आग्रह गरे ।
अटोमोबाइल क्षेत्रले मुलुकको अर्थतन्त्र र राजस्वमा महत्वपूर्ण योगदान पुर्याइरहेको उल्लेख गर्दै उनले यस क्षेत्रलाई हेर्ने सरकारी दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको बताए । उनका अनुसार गत वर्ष १ खर्ब ६ अर्ब रुपैयाँ बराबरको अटोमोबाइल तथा सम्बन्धित वस्तु आयात हुँदा यस क्षेत्रबाट मात्रै ८१ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो । कुल राजस्वमा झन्डै ९ प्रतिशत योगदान दिने क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।
श्रेष्ठले आयातित वस्तु तथा पार्टपुर्जाको स्वदेशमै उत्पादन गर्ने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरे । नेपालमा टायर र ब्याट्रीको उत्पादन सुरु भइसकेको उल्लेख गर्दै उनले अटोमोबाइलका अन्य पार्टपुर्जा पनि नेपालमै उत्पादन गर्न व्यवसायीहरूलाई प्रोत्साहित गर्नुपर्ने बताए ।
‘विगत ३६ वर्षको व्यावसायिक यात्रामा मैले यस्तो प्रतिकूल समय र व्यवसायीको मनोबल यति कमजोर भएको कहिल्यै देखेको थिइनँ,’ उनले भने, ‘झन्डै २२ अर्ब रुपैयाँको स्पेयर पार्टस् मात्र आयात हुन्छ । यसलाई नेपालमै एसेम्बलिङ वा कन्ट्रयाक्ट म्यानुफ्याक्चरिङमार्फत उत्पादन गर्न प्रोत्साहन गर्नुपर्छ ।’
युवा पलायन रोक्न र आगामी १० वर्षमा गुम्न सक्ने जनसांख्यिक लाभलाई जोगाउन स्वदेशमै उद्योग तथा रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा पनि उनले जोड दिए । सरकारले पुराना तथा बन्द उद्योग सञ्चालन गर्ने तयारी गरिरहँदा अहिले सञ्चालनमा रहेका उद्योगका समस्या समाधानमा समेत उत्तिकै ध्यान दिनुपर्ने उनको भनाइ छ ।
सरकारले अघि सारेको १ खर्ब डलरको अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा निजी क्षेत्र सहकार्य गर्न तयार रहेको श्रेष्ठले प्रतिबद्धता व्यक्त गरे । नाडा अटो शोले अटोमोबाइल क्षेत्रको विकाससँगै स्वदेशी उत्पादन र प्रविधिको सम्भावना उजागर गर्ने विश्वास व्यक्त गर्दै उनले आगामी वर्षहरूमा यस क्षेत्रले थप ठूलो फड्को मार्ने बताए ।
श्रेष्ठले नाडा अटो शो २०२६ को पूर्ण सफलताको शुभकामना दिँदै अटोमोबाइल क्षेत्रलाई उत्पादन, रोजगारी र राजस्व वृद्धिको महत्वपूर्ण आधारका रूपमा विकास गर्न सरकार र निजी क्षेत्रबीच थप सहकार्य आवश्यक रहेको बताए ।









